काँग्रेसको अपाङ्ग संघमा कलह, गगनविरुद्ध कोइराला गुट अदालत जाने

काँग्रेसको अपाङ्ग संघमा कलह, गगनविरुद्ध कोइराला गुट अदालत जाने
सुन्नुहोस्

नेपाली कांग्रेसको भ्रातृसंस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको नयाँ नेतृत्व चयनमा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको हस्तक्षपपछि किचलो निम्तिएको छ । चुनावमा धाँदली भएको भन्दै दुई पक्ष आमने-सामने भएपछि लफडा निम्तिएको हो । 

पार्टीका तर्फबाट निर्देशन समितिको संयोजक बनाइएका केन्द्रीय सदस्य मधु आचार्यमाथि देउवा र थापाको निर्देशनमा एकलौटी गरेको आरोप छ । अर्को पक्षलाई भोट हाल्नसमेत नदिएर सानेपा र बुढानिलकण्ठको इच्छा अनुरुप नेतृत्व चयन गरिएको  प्रतिनिधिहरुले गुनासो गरेका छन् । 

समितिका दुई सदस्य मदनकृष्ण श्रेष्ठ र सरस्वती बजिमयको सहमतिबिनै आचार्यले एकल रुपमा निर्वाचन प्रक्रिया अगाडि बढाएको भन्दै एउटा पक्षले परिणाम अस्विकार गरेपछि चुनावको बैधताको प्रश्नसमेत जन्मिएको छ । निर्देशन समितिकी सदस्य बजिमय हाल अमेरिकामा छन् । समितिका अर्का सदस्य श्रेष्ठले पनि नेतृत्व चयन प्रक्रिया बहिस्कार गरेर हिँडेका थिए । 

गत शुक्रबार उद्धघाटन भएको महाधिवेशनमा शनिबार नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्ने कार्यतालिका थियो । अध्यक्षका लागि माधव चम्लागाई, विकास थापा र कल्पना खड्का प्रतिश्पर्धी थिए । उनीहरुले मतदानका बेला प्रहरी लगाएर प्रतिनिधिसँग मत माग्न र मतदानस्थल वरपर जानसमेत नदिएको दाबी गरेका छन् । 

देउवा र गगनको हस्तक्षेपपछि अध्यक्षका उम्मेदवार खड्का र थापाले निर्वाचन नै बहिस्कार गरेका हिंड्न बाध्य भएको सो पक्षको जिकिर छ । अर्कोतिर, चुनाव गराउने जिम्मेवारी पाएका निर्देशन समितिका संयोजक आचार्यमाथि समितका सदस्यले प्रक्रिया छाडेर हिंडेपछि मतदाता नामावलीको सूचीमा एकलौटी गरेको आरोपसमेत लागेको छ । 

मत हाल्न चाहने प्रतिनिधिको हस्ताक्षर पनि नगराइनुले धाँधली प्रश्ट देखिएको जनाइएको छ । समाचार स्रोतले भनेअनुसार मुलुकभरबाट काठमाडौं आएका एक हजार एक सय ८८ मतदातामध्ये अन्तिम भोटर लिष्टमा आठ सय ९४ जना प्रतिनिधि र एक सय १७१ केन्द्रीय समितिका पदाधिकारीको नाम भित्तामा टाँसिएको थियो । 

पार्टीकै भातृ संगठनको चुनावमा मनलाग्दी भएको बिषयमा अध्यक्षका दाबेदार खड्का र थापाले शनिबार नेता डा.शेखर कोइरालालाई भेटेर गुनासो पनि गरे । एकलौटी गर्दै व्यापक धाँधली भएकाले मतगणना स्थगित गरेर विधिपूर्वक चुनाव गर्नुपर्ने माग उनीहरुको थियो । निर्वाचन गैह्रकानुनी तरिकाले गराइएको भन्दै कोइरालाले चुनाव स्थगित गर्न लगाउने आश्वासन दिएपछि थापा र खड्का फर्किए । 

तर, दुई भाइलाई भोट हाल्न व्यवधान खडा गरेपछि चम्लागाईंलाई जिताउन चार सय ७० मात्र मत खसाइएको आरोप लागेको छ । अन्तिममा एक पक्षको चुनाव वहिष्कारबीच बुथमा एकपक्षीय प्रतिनिधि राखेर मतगणना गर्दै परिणाम घोषणा गरिएको जनाइएको छ । 

बादविवाद र बहिष्कारकैबीच निर्वाचन समितिले अध्यक्षमा चम्लागाईं निर्वाचित भएको घोषणा गरेको थियो । कूल खसेको मतको झन्डै ८८ प्रतिशत भोट चम्लागाईंले पाएको भनिएको छ ।  उनले तीन सय ५१, थापाले ८८ र खड्काले १३ मत मात्र प्राप्त गरेको बताइएको छ । 

अध्यक्षमा निर्वाचित भनिएका चम्लागाईं महामन्त्री गगन थापा निकट हुन् । उनलाई सभापति देउवाकोसमेत समर्थन थियो । यता, असन्तुष्ट समूह पुनः निर्वाचनको माग गर्दै अदालतमा जाने तयारीमा छ ।

टिप्पणीहरू