म्याद सकिँदै, प्रधानमन्त्री भन्छन् – ‘धमाधम बन्दैछ’

प्रधानमन्त्री केपी शर्मा ओलीले दार्चुलाको विकट गाउँ छाङ्गरु जोड्ने पैदलबाटो निर्माणको काम भइरहेको बताएका छन् । आफ्नै देशको भूभागबाट व्यास जाने बाटो धमाधम निर्माण भइरहेको ओलीको भनाइ छ । तर, व्यास गाउँपालिकामार्फत कार्यान्वयन हुन लागेको बाटो निर्माण योजनाको टेण्डर प्रक्रिया नै पूरा भएको छैन । सार्वजनिक खरिद ऐन, नियमावलीको प्रक्रियाअनुसार बाटो निर्माणको ठेक्का सम्झौता गर्न टेण्डर निकालिएको छ । फागुन १३ गते एक महिनाको सूचना प्रकाशन गरी टेण्डर आह्वान गरिएकोमा चैत्र १३ गते (बुधवार) मात्रै टेण्डर हाल्ने म्याद सकिँदैछ । चैत्र ७ गते (बिहीवार) प्रतिनिधिसभाको बैठकमा सांसदहरूको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने निर्माण धमाधम भइरहेको बताएका छन् ।
रास्वपा सांसद विनिता कठायतले व्यास क्षेत्रका नेपालीले पैदलबाटोको अभावमा स्वदेशको बाटो भएर आफ्नो गाउँ जान नसकेको भनी प्रधानमन्त्रीलाई प्रश्न गरेकी थिइन् ।’ कहिलेसम्म त्यसक्षेत्रका जनताले स्वदेशकै पैदलबाटो भएर आफ्नो घर जान पाउँछन् ?’ भन्ने प्रश्न प्रधानमन्त्रीसंग सोधिएको थियो । प्रधानमन्त्रीले प्रतिउत्तर दिँदै बाटो धमाधम निर्माण भइरहेको र त्यसका लागि सरकारले ५ करोड रूपैयाँ बजेट निकासा गरिसकेको बताए । ‘दार्चुलाको सदरमुकाम खलंगाबाट उत्तरपट्टि नेपालका छाङ्गरुलगायत गाउँ छन् । नेपाल सरकारलाई थाहा छ छाङ्गरु जानका लागि बाटो रैनछ, अहिले नभएको होइन इतिहासदेखि नै थिएन, ’ प्रधानमन्त्री ओली भन्छन्, ‘...हामीलाई घोडेटो बाटो बनाउन सहयोग गरियोस् भनेर उहाँहरू(स्थानीय)ले भनेबमोजिम पाँच करोड रकम निकासा गरेर अहिले आफ्नै देशबाट आफ्नो भूभाग जाने बाटो धमाधम निर्माण भइरहेको छ ।’
टिप्पणीहरू