प्रतिपक्षले अडान नछोडेपछि प्रधानमन्त्रीलाई सभामुखको फोन

प्रतिपक्षले अडान नछोडेपछि प्रधानमन्त्रीलाई सभामुखको फोन

नयाँ बानेश्वरस्थित संसद भवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको खोजी भइरहेको छ । सभामुख देवराज घिमिरले सत्तापक्षका सांसदमार्फत् प्रधानमन्त्रीसँग संवाद गर्नुभएको बुझिएको छ । 

यसअघि आज बसेको प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरुले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयको विरोध गर्दै प्रधानमन्त्रीसँग जवाफ मागेका थिए । त्यसपछि आधा घन्टाका लागि भनेर स्थगित गरिएको बैठक अहिलेसम्म बस्न सकेको छैन ।  

प्रधानमन्त्री ओलीले संसदमा उपस्थित भएर जवाफ नदिएसम्म बैठक अवरुद्ध गरिरहने प्रतिपक्षको अडानपछि सभामुख घिमिरेले सहमतिको प्रयास गरिरहेको जानकारी प्राप्त भएको छ । अहिले सत्ता र प्रतिपक्ष दलका नेताहरु संसद भवनकै छुट्टा-छुट्टै कोठामा छलफल गरिरहेका छन् ।

सहमति खोज्नेक्रममा सभामुख घिमिरिले कुलमानको बर्खास्तीबारे उर्जामन्त्रीले संसदमा जवाफ दिने प्रस्ताव राखे पनि प्रतिपक्षका नेताहरुले मानिसकेको स्थिति छैन । प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने अडान दोहोर्याएको संसद भवन परिसरबाट नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले जानकारी दिनुभयो ।

‘हामीसँग कुरा भएपछि भर्खर फेरि सभामुखज्यूले प्रधानमन्त्रीसँग फोन गरेको भन्ने छ’, उहाँले जनआस्थासँग भन्नुभयो, ‘प्रधानमन्त्रीज्यू बालुवाटार छुट्टै बैठकमा हुनुहुँदो रहेछ, बरु केहीबेर पर्खन्छौ, उहाँ तत्काल संसदमा आएर जवाफ दिनुपर्छ भन्ने हाम्रो अडान हो ।’

संसदमा विपक्षी दलका सांसदले खोजी गरिरहँदा प्रधानमन्त्री ओली भने बालुवाटारमा सत्ता गठबन्धनको बैठकमा व्यस्त हुनुहुन्थ्यो । भूमि अध्यादेशबारे छलफल गर्न उपेन्द्र यादवसहित बसेको बैठकमा कुरा नमिलेपछि विधेयक ल्याउने सहमति भएको बताइएको छ ।

टिप्पणीहरू