दुईतिरको प्रदर्शनले जनमतको बैठक प्रभावित

सिके राउत नेतृत्वको जनमत पार्टीको राष्ट्रिय परिषद् समितिको बैठक सरेको छ ।
चैत १५ गतेका लागि तय भएको बैठक २१ गते बस्ने भएको हो । राजनीतिक प्रदर्शन र समसामयिक बन्द हड्तालको कारणले बैठक सार्नुपरेको केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलले बताए ।
चैत २१ गते राजधानीको सनराइज क्याफे एण्ड ब्याङ्क्वेटमा बिहान ९ बजेदेखि बैठक बस्ने उनले जानकारी दिए ।
‘मिति २०८१–१२–१५ गते शुक्रबारको दिन हुन लागेको जनमत पार्टीको राष्ट्रिय परिषद् समितिको बैठक र सोही दिन काठमाडौंमा रहेको विभिन्न राजनीतिक प्रदर्शन तथा समसामयिक बन्द हड्तालको कारणले गर्दा तपसिलको मिति, समय र स्थानमा बैठक हुने व्यहोरा जानकारी गराउँदछौं’,जारी सूचनामा उल्लेख छ ।
आउँदो शुक्रबार गणतन्त्रवादी र राजावादीको समूहले काठमाडौंमा छुट्टा-छुट्टै शक्ति प्रदर्शन गर्दैछ । गणतान्त्रिक व्यवस्थामाथि भइरहेको प्रहारविरुद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को अगुवाईमा समाजवादी मोर्चाले प्रदर्शन गर्नेछ ।
दुर्गा प्रसाईंको अभियान, नवराज सुवेदी नेतृत्वको आन्दोलन परिचालन समितिलगायत विभिन्न राजावादी समूहले पनि सोही दिन प्रदर्शन गर्ने घोषणा गरेका छन् ।
टिप्पणीहरू