प्रचण्ड हिँडेपछि प्रधानमन्त्रीको प्रश्न : खेतमा पानी लगाएको र बाख्रा किनेको कसरी जोडियो ?

प्रचण्ड हिँडेपछि प्रधानमन्त्रीको प्रश्न : खेतमा पानी लगाएको र बाख्रा किनेको कसरी जोडियो ?

प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको जारी तिक्तता आज सार्वजनिक मञ्चमै देखिएको छ । 

नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा आयोजित ‘संक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरुको सत्य, न्याय र परिपूरणीय अधिकार’सम्बन्धी राष्ट्रिय सम्मेलनमा सम्बोधनका लागि निम्त्याइएका दुई शीर्ष नेता घुमाउरो कटाक्षमा उत्रिएका हुन् । 

प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले संयुक्त रुपमा सम्मेलनको उद्घाटन गरे पनि मन्तव्य राख्दा भने 'छेडखानी' चल्यो । मुख्यत: प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री प्रचण्डलाई घुमाएर घोचपेच गरेको सुनियो । 

ओली र देउवाभन्दा पहिले बोलेका प्रचण्डले शन्ति प्रक्रिया टुंग्याउन दलहरुबीच सैद्धान्तिक बिमति नदेखिए पनि राजनीतिक उतारचढावले ढिलो भएको बताउनुभयो । अहिले टिआरसी आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति बनाउन दलहरुबिच समझदारी जुटेको अवस्थामा विगतका कुरा नकोट्याउने भन्दै उहाँले शान्ति प्रक्रियामा एमालेको भूमिकाप्रति अप्रत्यक्ष असन्तुष्टि राख्नुभयो । 

करिब आधा घण्टाको भाषण टुंग्याएर प्रचण्ड कार्यक्रमबाट बाहिरिनुभयो । त्यसपछि बोलेका कांग्रेस सभापति देउवाले सदाझैँ कसैप्रति कटाक्ष र घोचपेच गर्नुभएन । टिआरसीबाहेक अन्य विषयमा प्रवेशनै नगरेका उहाँले द्वन्द्व पीडितको घाउ र खतलाई चाँडै निको बनाउने विश्वास दिलाएर आफ्नो भाषण अन्त्य गर्नुभयो । 

अन्तिममा सम्बोधन गरेका प्रधानमन्त्री ओलीले भने ‘बसेर सुन्नैपर्ने मान्छे उठेर हिँडेको’ भन्दै प्रचण्डमाथि शुरुमै व्यंग कस्नुभयो । ‘पीडितहरुको कुरा त मैले नि सुनेको छु नि, तर सुनेर मात्र घाउ निको हुँदैन । त्यसलाई सम्बोधन गर्नुपर्छ’, द्दन्द्दपीडितसँग आफू निरन्तर संवादमा रहेको प्रचण्डको भनाईप्रति ओलीको कटाक्ष रह्यो ।    

उहाँ त्यतिकैमा रोकिनुभएन, कुलमान कारवाही प्रकरणमा प्रचण्डको हिजोको अभिव्यक्तिको खण्डन गर्नुभयो । संसद भवन बाहिर हिजो प्रचण्डले भन्नुभएको थियो, ‘टिआरसीबारे छलफल गरेर म निस्किनबित्तिकै कुलमानलाई हटाउनैपर्ने बाध्यता त थिएन होला, यो हर्कतले मलाई उहाँको सँगै स्वर्ग र नर्क जाने सम्झायो ।’ 

उक्त सन्दर्भ जोड्दै उहाँले जवाफ फर्काउनुभयो, ‘टिआरसी र एउटा कर्मचारीलाई कारवाही गर्ने कुरा अलग कुरा हुन् । खेतमा पानी लगाउने कुरा र बाख्रा किनेको कुरा कसरी जोडियो ?’

प्रधानमन्त्री ओलीले अर्को प्रसंगमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्मल निवासमा थपक्क बस्न सुझाव पनि दिनुभएकाे छ । ‘०६५ सालमा नै उहाँ (पूर्वराजा) घर जानुभएको हो । हामी पनि दुई-चार वर्षमा घर फर्किरहन्छौँ । कम्तिमा उहाँ त २५० वर्षपछि जानुभयो । तर, अहिले फेरि पोखराबाट दरबार खोज्दै फर्किने....थपक्कै घरमै बसे हुँदैन’,उहाँले भन्नुभयो ।
 

टिप्पणीहरू