यताको मेयरले टुकुचामा गाड्ने, धरानेलाई पाप लाग्ने

सामाजिक सञ्जालमा जथाभावी टिकाटिप्पणी गरिरहने सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ्गले काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएको विषयमा सरकारसँग जवाफ माग गरेका छन् । ‘काठमाडौंलाई प्रशासकीय अधिकृत किन नपठाएको सरकार ?’ भन्दै उनले प्रश्न सोधेका छन् ।
सामाजिक सञ्जालमा स्ट्याट्स लेख्दै उनले प्रमुख प्रशासकीय अधिकृत छिटो नपठाएमा सरकारलाई पाप लाग्ने बताएका छन् । ‘सुशासन खत्रा...काठमाडौंलाई प्रशासकीय अधिकृत किन नपठाएको सरकार ? कर्मचारीले तलब खान पाएनन् रे ! पाप लाग्छ है उनीहरुको बालबच्चाको !’, उनले लेखेका छन् ।
संघीय सरकार र काठमाडौं महानगरका मेयर बालेन्द्र (बालेन) साहबीचको खिचातानीले साढे तीन हजार बढी कर्मचारी महिनौंदेखि तलबविहीन बनेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँलाई नै काम गर्न दिन निर्देशन दिएको छ तर बालेन तयार देखिँदैनन् ।
महानगरमै भएका कर्मचारीलाई आर्थिक अधिकार दिन माग गर्दै मन्त्रालयमा पत्र लेखेपनि सरकारले त्यसमा चासो देखाएको छैन । यता, बालेनले आफ्ना कर्मचारीले एक साताभित्र तलब नपाएमा सबैलाई टुकुचामा लगेर गाड्ने चेतावनी दिएका छन् । उनको उक्त अभिव्यक्तिको चर्को विरोध भइरहेको छ ।
टिप्पणीहरू