प्रधानमन्त्रीको जवाफमा माओवादी असन्तुष्ट, कमिसनको खेलमा कुलमान बाधक

प्रधानमन्त्रीको जवाफमा माओवादी असन्तुष्ट, कमिसनको खेलमा कुलमान बाधक

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले कुलमान प्रकरणमा प्रधानमन्त्रीले गैर जिम्मेवारपूर्ण जवाफ दिएको प्रतिक्रिया जनाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष सम्बोधनपछि सांसद राजन दहालले उक्त धारणा राखेका हुन् । 

नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट कुलमान घिसिङलाई हटाइनुको कारणबारे प्रतिपक्ष दलका सांसदहरुले जवाफ माग गर्दै आएकोमा प्रधानमन्त्री ओलीले भन्नुभएको थियो, ‘एउटा कर्मचारी र विभागीय मन्त्रीले एकअर्काप्रति लोयल्टी फिल गरेन भने सरुवा, जगेडामा राख्ने, स्पष्टीकरण माग्ने, नसिहत चेतावनी दिने वा पदमुक्त गर्न मिल्छ । यो अहिलेको सरकारले मात्रै होइन, जहिलेको सरकारले पनि गर्छ ।’

तर सांसद दाहालले भने कुनै पनि कर्मचारी मन्त्रीभन्दा पनि कानुन र ऐनप्रति बढी उत्तरदायी हुने बताएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै भने, ‘कुलमानलाई किन हटाइयो भन्ने जवाफ जनतालाई सुनाउन चाहन्थ्यौँ, त्यो प्रधानमन्त्रीकै मुखबाट । तर सुनिहाल्नुभयो, उहाँले कुलमान मन्त्रीप्रति उत्तरदायी भएनन् भन्ने कारण सुनाउनुभयो । कर्मचारी मन्त्रीमाथि उत्तरदायी हुने हो कि ऐन र कानुनप्रति ? मन्त्रीले आफैं कानुनविपरित निर्देशन दिने, आफैं कमिसन खाने मौका खोज्ने....आजको जवाफ जिम्मेवार जवाफ भएन ।’

प्रधानमन्त्री ओलीले अदालतमा विचाराधीन विषय भनेर लामो जवाफ नदिए पनि घुमाउरो भाषामा आफैंलाई गलत प्रमाणित गर्नुभएको सांसद दाहालको विश्लेषण छ । ‘कमिसन खाने बाटोमा कुलमान बाधक थिए, मन्त्रीप्रति उत्तरदायी भएन भनेर हटाइयो, यसको अर्थ त अब कमिसन खान सहयोग गर्ने मान्छे त्यहाँ राखिएको छ भन्या हो नि । प्रधानमन्त्रीज्यूले पुनः एकपटक विचौलियासँगको लगाबलाई प्रमाणित गर्नुभएको छ’, उनले थपे ।
 

टिप्पणीहरू