मीनबहादुरको आक्रोश - दुर्गा प्रसाई राज्यले पुल्पुल्याएर पालेको गुण्डा हो

मीनबहादुरको आक्रोश - दुर्गा प्रसाई राज्यले पुल्पुल्याएर पालेको गुण्डा हो

राजावादी प्रदर्शनकारीले शुक्रबार तिनकुनेमा मच्चाएको वितण्डाले कोटेश्वरको भाटभटेनी सुपरमार्केट प्रत्यक्ष मारमा पर्यो । दुर्गा प्रसाईंले कमाण्ड गरेको प्रदर्शन भड्किएपछि तितरबितर भएका राजावादीहरुले बालकुमारीसम्म पुगेर आगजानी र ढुंगामुढा गरेका थिए । 

त्यही बीचमा पर्ने भाटभटेनीमा प्रदर्शनकारीले लुटपाट मच्चाए । लिपिस्टिक, गाँजल, मदिरादेखि फ्रिज, टिभी र मोबाइलसम्म चोरेर लगे । यत्रो क्षति व्यहोरेका भाटभाटेनीका संस्थापक मीनबहादुर गुरुङलाई आज सञ्चारकर्मीले सोधेका छन्,‘उक्त घटनालाई कसरी हेर्नुभयो ?’ 

भाटभटेनीमा दिउँसै लुटपाट भइरहँदा प्रदर्शनकारीलाई धपाउन सफल भएका सुरक्षागार्डहरुलाई सम्मान गर्न आयोजित कार्यक्रममा उनले संक्षेपमा जवाफ दिए, ‘दुर्गा प्रसाईंलाई राज्यले पुलपुल्याउँदा यो सबै भयो ।’

त्यसो त, व्यवासायी गुरुङ भद्र र शलिन व्यक्ति हुन् । सार्वजनिक कार्यक्रम र संवादमा संयमित भएर आफ्ना धर्ना राख्ने उनी आज भने आफ्नो स्वभाव विपरित आक्रोशित सुनिए । 

‘हामीले हरेक वर्ष सरकारलाई ट्याक्स तिर्दै आएका छौँ, त्यो संकलित रकम सरकारले सुरक्षा निकायमा पनि लगानी गरेको हुन्छ, तर खै त हाम्रो सुरक्षा ?’, आक्रमक हुँदै गुरुङले भने, ‘हाम्रो दशौँ हजार कर्मचारी छन्, उनीहरुको सुरक्षा गर्नुपर्दैन ?’ 

अन्तिम राजा ज्ञानेन्द्रको इसारामा आन्दोलनको 'जनकमाण्डर' बनाइएका तर भीडलाई भड्काएर फिल्डबाटै भागेका प्रसाईंलाई उनले ‘गुण्डानाइके’को संज्ञा पनि दिए । प्रसाईंको अराजकताबारे जानकार हुँदाहुँदै पनि सरकार निरीह बनेको गुरुङको भनाइ छ ।

उनले विस्तृतमा थपे, ‘दुर्गा प्रसाई गुण्डानाइके हो, गुण्डाकै नाइके हो ।  मारवाडीले यस्तो गर्‍यो, त्यस्तो गर्‍यो भन्दै हिँड्छ । मारवाडी देशको नागरिक होइनन् ? व्यवसायी भगाएर देश कंगाल बनाउने ? भाटभटेनीलाई लुटपाट गरेर राजसंस्था फर्किन्छ ? भाटभटेनीमा ढुंगा हानेर संविधान मेटिन्छ ? हामी बुझ्दैनौँ र ? यो सबै डकैती हो ।’

व्यवसायी गुरुङले घटना भएको दिन भाटभटेनीको सुरक्षाका लागि प्रदर्शनकारीसँग डटेर सामाना गरेका सुरक्षागार्ड दुलप्रसाद पराजुलीलाई पाँच लाख नगदसहित सम्मान र तलबसमेत वृद्धि गरिदिएका छन् ।

टिप्पणीहरू