लुटपाटमा पनि रास्वपाको पूरानै मान्यता : माछा हुँदा दुलोभित्र हात, सर्प देखिए बाहिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भाटभटेनी सुपरस्टोरमा भएको लुटपाटको घटनामा समातिएका खोटाङका डा. राजकुमार राई आफ्नो पार्टीमा नरहेको दाबी गरेको छ । सभापति रवि लामिछानेको सहकारी प्रकरणलगायत विभिन्न विवादास्पद घटनामा अप्ठेरोमा पर्दै गएपछि ‘खुट्टा उचाल्ने’ गरेको रास्वपाले उक्त लुटपाटमा संलग्न रहेको भनिएका राईले पार्टी छाडिसकेको जिकिर गरेको हो ।
आज विज्ञप्ति जारी गर्दै केन्द्रीय संगठन विभाग सचिव शंकर श्रेष्ठले सञ्चारमाध्यमले भ्रामक प्रचार गरेको आरोप लगाए । राईले तीन महिनाअघि नै पार्टी छाडेको बताउँदै उनले भनेका छन्, ‘नाम प्रस्तुत भएका खोटाङका काङ्ग्रेसका पूर्वनेता रहेका डा. राजकुमार राई, भगवती रोकालगायतका व्यक्तिहरु विगत करिब ३ महिना अगाडि देखिनै राष्ट्रिय स्वतन्त्र पार्टीबाट अलग भएको स्वघोषणा गरेका र हाल कुनै जिम्मेवारीमा नरहेका कुरा स्पष्ट गरिएको छ । उनीहरु रास्वपाका विभिन्न महत्वपूर्ण पदमा रहेको भनी मिडियामा आएकोले उक्त कुरामा कुनै सत्यता नभएको र भ्रमपूर्ण रहेको जानकारी यसै विज्ञप्तिद्वारा सबै आमसञ्चारमाध्यमहरुमा जानकारी गराइन्छ ।’
चैत १५ गते दुर्गा प्रसाईं नेतृत्वको राजा फर्काउने हिंसात्मक प्रदर्शनका क्रममा एक समूहले कोटेश्वरस्थित भाटभटेनीमा लुटपाट मच्याएको थियो । उक्त अभियोगमा पक्राउ परेका डा. राई रास्वपाको निर्वाचन क्षेत्र सभापति एवम् खोटाङ जिल्ला कमिटी पदाधिकारी रहेको भनिएको छ ।
यसअघि रवि लामिछानेका ‘आर्थिक व्यवस्थापक’ भनी चिनिएका केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेको घटनामा पनि रास्वपाले यस्तै विज्ञप्ति निकालेको थियो । गत महिना नेपालबाट अमेरिका फर्किने क्रममा उनी पेन्सिल्भेनिया अन्तर्राष्ट्रिय विमानस्थलबाट समातिएका थिए ।
पक्राउ प्रकरणमा एक सातासम्म मुख नखोलेको रास्वपाले घटना बाहिर आएपछि हतारमा विज्ञप्ति सार्वजनिक गर्दै थापाले पार्टी छाडिसकेको प्रतिक्रिया दिएको थियो ।
टिप्पणीहरू