सरोज गुरागाईले काम थाले, बालेन अझै बेपत्ता

सरोज गुरागाईले काम थाले, बालेन अझै बेपत्ता

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले आजदेखि काम शुरु गरेका छन् । मेयर बालेन्द्र (बालेन) साहको रुकावटका बाबजुद वडाध्यक्ष,कार्यपालिका सदस्य तथा कर्मचारीहरुको जोडबलमा छिराइएका गुरागाईँले कुनै अवरोधबिना कार्यालय पुगेर काम थालेका हुन् । 

प्रमुख प्रशासकीय अधिकृतले काम थालिसक्दा मेयरको भने कुनै अत्तोपत्तो छैन । उनी आज पनि कार्यालय नआएको बुझिएको छ । महानगरका प्रवक्ता नवीन मानन्धरले मेयरसँग हिजोदेखि सम्पर्क नभएको बताए । जनआस्थासँग भने,‘प्रमुख प्रशासकीय अधिकृतले काम थालिसक्नुभयो । मेयरचाँहि कता हुनुहुन्छ ? थाहा भएन । हिजोदेखि उहाँसँग कुरा भएको छैन ।’

‘प्रमुख प्रशासकीय अधिकृतले काम थालिसक्नुभयो । मेयरचाँहि कता हुनुहुन्छ ? थाहा भएन । हिजोदेखि उहाँसँग कुरा भएको छैन ।’

गुरागाईँले कर्मचारीको खातामा तीन महिनादेखि रोकिएको तलब पठाउने प्रक्रिया अगाडि बढाइसकेका छन् । प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला ठोकेर,गाडीमा ह्विललक लगाएर र महानगरको गेटभरि नगरप्रहरी खटाएर हिँडेका मेयरबारे कार्यालयको कुनै कर्मचारी जानकार छैनन् । हिजो दिउँसो पाँचखालको एक होटलमा देखिएका बालेनलाई उपमेयर सुनिता डंगोलले महानगरमा तमासा नलगाउन चेतावनी दिइसकेकी छन् । 

यता,वडाध्यक्ष र अन्य कर्मचारी पनि बालेनदेखि रुष्ट छन् । समस्या समाधान गर्नुको साटो दादागिरी देखाएको भन्दै कर्मचारीहरुले बालेनको विरोध गरिरहेका छन् । वडाध्यक्षहरु मेयरसँग संयुक्त रुपमा ‘टेबल टक’ गर्ने निर्णयमा पुगेका छन् । २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले बालेन अभिभावकत्वको भूमिका निर्वाह गर्न चुकेको आरोप लगाए ।

सहसचिवस्तरको कर्मचारीको सवारी साधनमा ह्विललक लगाउने, कोठामा तालाबन्दी गर्नेलगायतका कार्य गर्न मेयरलाई शोभा नदिने उनको भनाइ छ । गल्ती गर्नेलाई कारबाही गर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, न्यायालय भएको उल्लेख गर्दै उनले मेयरले कानुन आफ्नो हातमा लिएको बताए । 

वडाध्यक्ष महर्जन भन्छन्,‘उहाँ हामीसँग छलफल गर्नै चाहनुहुन्न । मेयर भएपछि सबैको कुरा सुन्नुपर्छ । उहाँले त सहजकर्ताको भूमिका खेल्नुपर्थ्यो । अगाडि नआउने, पार्किङ्गमा भएको गाडीमा ह्विललक लगाउने, कार्यकक्षमा तालाबन्दी गर्ने । मेयरले यस्तो काम गर्न सुहाउँछ ? हामी उहाँसँग यो विषयमा कुरा गर्छौं ।’ त्यसैगरी, उनले ‘साउथ इण्डियन मुभी’ जसरी इन्काउटर दिएर महानगर नचल्ने बताएका छन् ।

टिप्पणीहरू