कुलमानको प्रश्न- विद्युत बक्यौता असुली गर्नु राज्यविरुद्धको अपराध हो ?

नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुलीको बक्यौता असुलीका लागि इमान्दार प्रयास गर्दा सरकारले प्रतिशोध साँधेको बताएका छन् ।
डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता महसुल उठाउन गरेको इमान्दार प्रयास नै आफूलाई पदबाट हटाउने मुख्य कारण बनेको उनले गुनासो गरे । आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै घिसिङले भने- बक्यौता उठाउने मेरो प्रयास नै मलाई पदबाट हट्ने मुख्य कारण बनेको छ । के मेरो प्रयास राज्यविरुद्धको अपराध हो ? यसको जवाफ इतिहासले अवश्य माग्ने छ ।'
प्रधानमन्त्री केपी शर्मा ओली र उर्जामन्त्री दिपक खड्काको नाम उच्चारण नगरी उनले प्राधिकरणको कार्यकारी निर्देशकलाई गाली गर्नैका लागि संसदको दुरुपयोग गरिएको बताए । 'राज्यका जिम्मेवार मान्छेहरुले सार्वभौम संसदको रोष्टम कसरी दुरुपयोग गरे नेपाली जनता प्रत्यक्षदर्शी हुनुहुन्छ', उनले भने ।
तर पनि यी घटनाक्रमबाट उत्तेजित र हतोत्साही नभई आफूले बक्यौता असुली गर्न इमान्दार प्रयत्न जारी राखेको घिसिङले सुनाए । एक इमान्दार राष्ट्रसेवक कर्मचारीको रुपमा कार्यकाल समीक्षा गर्दा पछुतो मान्नुपर्ने अवस्था नरहेको भन्दै उनले गौरव गरे । प्राप्त अवसर र अधिकारलाई प्रयोग गर्न एक क्षण पनि खेर नफालेको उनले प्रष्टाए ।
डेडिकेटेड र ट्रंकलाइनको प्रिमियम महसुल लहडमा उठाउन नखोजेको बताउँदै घिसिङ्गले थपे, 'यसलाई सम्मानित सर्वोच्च अदालतदेखि जिल्ला अदालतबाट पनि स्वीकृति मिलेको हो । तर, महसुल उठाउने काममा सक्रिय मलाई छ पटकसम्म स्पष्टिकरण माग गर्ने र हजारौं पृष्ठका कागजात संग्रह गरि विवरण पेश गर्न लगाएर मुख्य कामबाट अल्मल्याउने प्रयत्न भैरहेको थियो ।'
पटक-पटक लाइन काटेर तथा अन्य विकल्पसमेत अवलम्बन गरि बक्यौता उठाउन प्रयास गरिरहेकोमा धेरै पटक माथिल्लो निकायबाट अवरोध सृजना गरेको उनको भनाई छ ।
टिप्पणीहरू