राजदूत यसरी रोकिएछन्

राजदूत यसरी रोकिएछन्

नेताको प्यारो भएपछि पदले कसरी पछ्याउँछ भन्ने उदाहरण हुन्, अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी । मुख्यसचिवबाट राजीनामा दिएर तात्तातै बेलायतमा राजदूतजस्तो आकर्षक पद हात पारेका उनले त्यसयता खाली हात बस्नुपरेको छैन । कांग्रेस र एमाले दुबैको रोजाइमा परिरहने यिनीसँग आवश्यकताअनुसार बालकोट र बूढानीलकण्ठको प्यारो बन्न सक्ने खुबी पनि छ । त्यसैले जुनसुकै सरकारको पालामा पनि उनको नाम राजदूतको सूचीबाट छुट्दैन । 

केपी ‘बा’ को अघिल्लो प्रधानमन्त्रीत्वकालमा मुख्यसचिवबाट राजीनामा गराएर रेग्मीलाई एमाले कोटामा बेलायतको राजदूत बनाइयो । अघिल्लो प्रचण्ड नेतृत्वको सरकारबाट एमालेकै सिफारिसमा राजदूत बनाएर भारत पठाउने निर्णय थियो । तर, गठबन्धन फेरिएपछि नियुक्ति रोकिएकोमा नयाँ सरकारले अमेरिका पठाउने निर्णय गर्‍यो । उनै रेग्मी त्योभन्दा आकर्षक पद हत्याउने खेलमा रहेको चर्चाका बीच एग्रिमो आएको ३ महिनापछि बल्लतल्ल गत मंगलबार कार्यभार सम्हाल्न वासिंगटन डिसीतिर लागेका छन् ।   

राष्ट्रपतिमा निर्वाचित भएसँगै डोनाल्ड ट्रम्पले लिएको उथलपुथलकारी विदेश नीति र मुख्यतः वैदेशिक सहायता रोक्ने निर्णयले नेपालमा पर्ने प्रभावलाई लिएर चिन्ता प्रकट भैरहँदा एग्रिमो आएको ३ महिनासम्म रेग्मी किन त्यता गएनन् ? ५२ भाइको मुद्दा हराएर अख्तियार प्रमुख खाने दौडमा रहेको भनिएका उनले प्राथमिकता फेरेको एकथरीले दावी गरिरहँदा कतिपयले अमेरिकाले अर्दलीलाई भिसा दिन आनाकानी गरेपछि यतै रोकिनुपरेको बताएका छन् । बताइएअनुसार अमेरिकाले तोकेको तलब–सुविधा दिने सुनिश्चितता नहुँदा रेग्मीसँगै नेपालबाट जाने दुई जना घरेलु कामदारलाई दूतावासले भिसा दिन अस्वीकार गरेको थियो ।    

नेपाली राजदूतले २ जना सहयोगीलाई अर्दलीका रूपमा लैजान पाउने व्यवस्था छ । उनीहरूको तलब–भत्ता, आतेजाते, औषधोपचारलगायत सम्पूर्ण खर्च सरकारले व्यहोर्छ । तर, सम्बन्धित देशले तोकेको पारिश्रमिक दिनुपर्ने हुन्छ । अमेरिकाले एक जनाको २५ सय डलर तोकेको छ । जबकि नेपालबाट विदेशमा राजदूत र डिसिएम खटिने सहसचिवस्तरको कर्मचारीले त्यति तलब खान्छ । अचेल भने त्यसरी लैजाने अर्दलीको तलब खुलाइएको कागजात पेश नगरेसम्म भिसा दिन कडाइ गरिएको छ । यही कारण रेग्मीको यात्रा रोकिएकोमा परराष्ट्र मन्त्रालयले कुरा मिलाएपछि मंगलबार अमेरिका उडेका हुन् ।

यसअघि अष्ट्रेलियाका लागि राजदूत चित्रलेखा यादवले पनि यस्तै समस्या झेल्नुपरेको थियो । अहिले उनले बिना अर्दली काम गरिरहेकी छन् । अर्कोतिर, राज्यकोषबाट तलब–भत्ता खाने अर्दलीको चरम दुरुपयोग हुने गरेको गुनासो छ । लक्की शेर्पा अष्ट्रेलियामा राजदूत हुँदा निजी सहयोगीसँगको लेनदेन काण्ड बाहिर आएको थियो । जर्मनीस्थित राजदूतले तोकेको पारिश्रमिक नदिएको भन्दै उनका सहयोगीले परराष्ट्र गुहारेको खबर पुरानो होइन । इजरायलबाट कान्ता रिजाललाई फिर्ता बोलाउँदा अर्दली नफर्काएको लफडा जल्दोबल्दो नै छ । आफूलाई मापदण्डभन्दा कम तलब दिएको जनाउँदै राजदूतका सहयोगीले हारगुहार गरेका अन्य थुप्रै घटना छन् । 

लोकदर्शन रेग्मीको हकमा अख्तियार प्रमुखको दौडमा रहेकाले राजदूत खान अलमल गरेको चर्चा थियो । जानकार स्रोतका अनुसार, सर्वोच्चमा विचाराधीन ५२ भाइवाला मुद्दा ‘उल्ट्याउने’ अनि प्रधानमन्त्री ओलीलाई भनेर प्रेम राईको ठाउँमा जाने योजना बनाएका उनी मुद्दाको पेशी पछाडि सर्दै गएपछि बल्लतल्ल अमेरिका उडेका हुन् । अदालतबाट ५२ भाइको नियुक्ति बदर भएमा पूर्व मुख्यसचिव शंकरदास बैरागी र पूर्वआइजिपी धीरजप्रताप सिंहले पनि संवैधानिक नियुक्ति पाउन सक्छन् ।
 

टिप्पणीहरू