पत्रकारहरु हिँडेपछि गभर्नरको गला अवरुद्ध

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको आज बिदाई गरिएको छ । पाँच वर्षे कार्यकाल भोलि सकिनुअघि आज दिउँसो बैंकको केन्द्रीय कार्यालय, बालुवाटारबाट उनी औपचारिक रूपमा बिदा भए ।
बिहान साढे ११ बजेदेखि पत्रकार सम्मेलन र त्यसपछि बैंकका कर्मचारीहरुको तर्फबाट औपचारिक बिदाई कार्यक्रम राखिएको थियो । कर्मचारीलाई सम्बोधन गर्ने क्रममा उनले आफूले बैंकमा २०४२ वैशाख २ गतेदेखि सेवा प्रारम्भ गरेको र आगामी २ गते करिब ३७ वर्ष पूरा हुने सन्दर्भ उठाउँदा गला अवरुद्ध भएको हो । डेपुटी गभर्नरबाट अवकाश पाएपछि अधिकारी चार वर्ष लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत बनेका थिए ।
गभर्नरलाई बिदाई गर्दै डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाले ‘विगतमा भूलचुक गल्ती भएको भए माफ पाऊँ’ भनेकी थिइन् । २०७८ चैतमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको सिफारिसमा सरकारले अधिकारीलाई निलम्बन गरेको थियो । पृथ्वी शाहले अमेरिकाबाट ल्याएको शंकास्पद रकम निकासा नगरेवापत उनी निलम्बनमा परेका हुन् ।
निलम्बनपछि कायम मुकायमको जिम्मेवारी पाएकी ढुंगानाले एकाएक बैंकको वेवसाइटबाट गभर्नरको फोटो डिलिट गर्न लगाएकी थिइन् । दुई सातामै सर्वोच्च अदालतको अन्तरिम आदेश पाएर पदस्थापन भएपछि अधिकारीको फोटो यथावत राखिएको थियो । डेपुटीको उक्त निर्णय त्यतिबेला निकै विवादमा आएकाले आज सार्वजनिक रुपमा घुमाउरो तवरले माफी मागेको कर्मचारीहरुको बुझाइ छ ।
टिप्पणीहरू