दुई बीस पछिका प्रौढ कुरा

दुई बीस पछिका प्रौढ कुरा

सानो छँदा ४० वर्ष पछिको गन्तिलाई गाँउघरमा दुई बीसे भनेको सम्झना ताजै छ । हामीहरु जसरी झिंगटीको घरबाट टिनको घरमा बसाई सर्यौं, टिनको घरबाट ढलान घरमा सर्यौं, देश छोडेर बिदेशियौं, बोली भाषाले लय फेर्यो । तर पनि गाउँघरमा ग्राम्यभाव अझै पाउन सकिन्छ बूढा आमाबाहरुका मुखबाट । 

आधा शताब्दी भन्नेहरु पनि छन्, अंकमा ५० भन्नेहरु पनि छन् तर सबैका आआफ्नै अनुभव छन् होला । ४० वर्षपछिको जीवनशैलीले नूतन गीत गाएर जान्छ, प्रौढताको अल्पता हाथमा थमाइ जान्छ । मेरो ४० वर्ष पछिका वर्षहरु केवल समयको मात्र गणना होइन, संघर्ष, बलिदान र अनुभवको सङ्गालो हो । यो त्यो मोड हो, जहाँ अघिल्लो जीवनको यात्रा अंशलाई फर्केर हेर्ने र बुझ्ने मौका मिल्दछ । 

विशेषगरी, जन्मभूमिबाट टाढा, आफ्ना बूढा आमाबुबालाई छोडेर, आफ्ना सन्तानका लागि राम्रो भविष्य बनाउने ध्येयले बिताएका वर्षहरूको मूल्य यति गहिरो हुन्छ कि शब्दहरूले त्यसलाई पूर्ण रूपमा व्यक्त गर्न सकिंदैन । गरियो भने पनि त्यो एक असफल प्रयास हुन्छ, अपूरो कथा हुन्छ । यो एउटा यस्तो कथा हो, जहाँ परिश्रम, धैर्य र अरूका लागि बाँच्दाबाँच्दै आफ्नै जीवन कतै हराएको अनुभूति दिन्छ । 

देश छाड्ने निर्णय सधैं सजिलो कहाँ हुन्छ र ? आउने उज्यालो भविष्यको खाका, सुरक्षित जीवन र घर सन्तानलाई राम्रो अवसर दिन सकिने द्रविलो आशाले विदेश जाने निर्णय लिइन्छ । तर यसको मूल्य चुकाउनै पर्छ–सबैभन्दा ठूलो मूल्य भनेको आफ्ना बूढा आमाबुवाको साथ छुट्नु हो, परिवारका अग्रजहरुको छाँयामा बस्न नपाउनु हो । त्यो छाँयाको उपज बनेर हामीले जन्म लियौँ तर छहारीमा हरियाली ओत हराउँदै गएपछि सन्तानको कर्तव्य पूरा गर्न नपाउँदाको थकथकीले करुणा भरिएर आउँछ ।

हिजो जसले हाम्रो हात समातेर हिँडाउन सिकाए, नाच्न सिकाए र बाँच्न सिकाए । जसले हाम्रो पहिलो शब्द सुनेर हर्ष माने, तीनै परम प्यारा आमाबुबा अहिले जन्मभूमिमा बिस्तारै बुढ्यौलीले थिचिँदै गएका छन् । उनीहरूका गला कमजोर भइसकेका छन्, आँखाहरू धमिलो भएर धरमराएका छन्, हिँड्ने गोडा गलिसकेका छन्, सहारामा उठ्ने हातहरुले सहयोगको पुकारा गरिरहेका छन् । तर, हामी सन्तानले टाढाबाट केवल फोनमा सान्त्वना दिन्छौं यो हाल अहिले मेरो हो, म जस्ता कैयौंको हो, अझ भनौं बेहाल हो ।

नियत जब नियतीमा बदलिन्छ, बुनेका सपनाहरु अर्कैका लाग्छ्, बैंश छँदा कुँदेका स्वर्ण अक्षरहरु चालिसपछि, ५० त मध्यधार भइगयो । स्मृतीहरु तालुतन्तुलाई सांकेतिक बनाएर खुइलिन थाल्छन्, विस्मृति पनि रोग हो भन्ने ज्ञान हुन थाल्छ । वर्ष दिनमा उल्लास बोकेर आउने चाडपर्व, जन्मदिनका अवसरहरुदेखि अन्य ससाना खुसीका क्षणहरू सबै मोबाइलको पर्दामा मात्र सीमित भएका छन् । ‘अर्को साल आउँछु’ भन्ने शब्दावली बारम्बार दोहोरिन्छ, समयक्रममा ती सबै बित्दै जान्छन् । 

कतिपय सपना वर्षौवर्ष खाइसक्दा पनि सँधै अधुरो नै रहन्छ र आउने वर्ष भन्दै सान्त्वनाको लागि सान्त्वना दिइ जान्छन् । आफ्ना सन्तानलाई राम्रो शिक्षादीक्षा, राम्रो अवसर दिन सकियोस् भनेर हरेक दिन अथक परिश्रम गरिन्छ परदेशमा । बिहान सबेरै उठेर काममा हिँड्नु, दिनको उज्यालोको भेउ नपाउनु, राति अबेरसम्म काम गर्नु, छोराछोरी र घरपरिवारलाई कुनै अभाव नहोस् भन्ने प्रयासमा आफूले सँधै भोलिको आशामा जीवन बिताउनु प्रायः प्रदेशिएकाको वास्तविकता हो जस्तो मलाई लाग्छ । 

जब बच्चाहरू हुर्किन्छन्, तिनीहरू पनि बिस्तारै टाढिँदै जान्छन् । फरक संस्कृतिमा हुर्किएर, फरक सोचले परिपक्व भएका सन्तानको व्यवहार पनि उस्तै हुने नै भयो । जब उनीहरू पनि आफ्नो जीवनको यात्रामा अघि बढ्छन्, त्यसपछि साँचेको घरमा झन् सुनसान छाउँछ, हिजोको त्यो हराभरा निवास निर्जन लाग्न थाल्छ ।

 
परिवार, सन्तान, र भविष्य बनाउने चिन्तामा आफ्ना सपना, आफ्ना इच्छाहरू हराउँदै जान्छन् । सायद यो हामी नेपालीहरुको वंशाणुगत रोग नै होला ! युवावस्थामा गरेका संकल्पहरू, घुम्ने रहर, नयाँ कुरा सिक्ने चाहना सबै जिम्मेवारीको भारीले दबिन्छ । जिन्दगी हेमन्त रानाको गीत ‘चालिस कटेपछि रमौंला’ सुनिरहे पनि जीवनको भोग अर्को स्वर्णिम १० वर्ष विलय भएको पत्तो नै भएन । परदेशी जीवनमा युवाकालीन सपनाहरु त पूरा भए तर मन रित्तैको आभाष भइरह्यो । 

हैट म त ५० वर्षमा पो हो ! कहिलेकाहीं यस्तो लाग्छ, ‘अब समय आयो आफूलाई दिने’, तर जब त्यो समय आउँछ, शरीर थाकिसकेको हुन्छ, मन उत्साहित हुँदैन । बाँच्ने रहर भित्रै कतै हराइसकेको हुन्छ । मेरो स्वभाव देखेर दाइ सुमन खड्का भन्नुहुन्छ, कहिलेकाँही आफैँ पनि खुशी हुने प्रयास गर, अनि आफैंलाई प्रश्न सोध्न मन लाग्छ—‘मैले अरूका लागि मात्र बाँचेर आफ्नो जीवन कहिले जिउने ?’ 

४० देखि ५० वर्षसम्म आइपुग्दा विगतका संघर्ष, हण्डर–ठक्करले मानिसलाई बलियो बनाउँछ, त्यसपछि बनाउने कुनै आयु रहँदैन, क्रमिकतामा क्रम थपिने मात्र हो, सृजना, साहस, निर्णय क्षमता, सुरोपनाले भयको पछ्यौरा ओढेको भान हुन्छ । अनुभवमा त म बलियो नै छु होला तर शारीरिक रुपमा कम्मरको नसा च्यापिसकेका छन्, प्रेसर, कोलेस्ट्रल, थाइराइड आदिको आक्रमण आफ्नै तरिकाले त्यसपछि झम्टने रहेछ । खानपिनमा ध्यान, पेयपदार्थको हर्जना पनि गतिलै हुन्छ । आफ्नै आँखा धमिलिन थालिसके, स्मरणको लागि इलोन मस्को चिप्सको पर्खाइमा छु वा अन्य प्रविधि आउला र मलाई ताजा गराउला भन्ने आश छ यो आधुनिक समयको हुरी बतासमा । सन्तानलाई राम्रो भविष्य दिएकोमा गर्व छ, परिवारलाई सुरक्षित राख्न सकियो भन्नेमा सन्तोष छ, तर अब चाहिँ स्वयंका लागि केही गर्ने समय आएको छ ।
 
अबका वर्षहरू केवल उत्तरदायित्वमा बिताउने कि अहिलेसम्म अधुरा रहँदै आएका सपना पूरा गर्ने ? निर्णय आफैंले गर्नुपर्ने भएको छ । जीवनको अर्थ केवल दिनु मात्र होइन, कहिलेकाँही आफ्नै लागि पनि बाँच्नु जरूरी हुन्छ । अझै ढिला भइसकेको छैन, आफैंलाई पुनः फेला पार्ने समय आएको छ । अबका दिनहरू अरूका लागि मात्र होइन, आफैंका लागि पनि जिउने हो । यो मेरो तितो मिठो, अमिलो अनुभव हो, आफैले आफैलाई बाँधेर बसेको छु, चञ्चल चासिलपछिको मिन पचासको याममा नदीको भूतलमा खेलिरहेका माछाको मनोवाद हो यो । 

भोलि पछिका सपनाहरु ओथारोमा हुलेर आफैंमा फर्कन खोजिरहेकोछु । अबको आउने समयमा अझ विधायक र सन्तुलित, सुललित भएर बिताउने आशामा छु । मानवीय चेतनालाई इन्धन भर्ने एकल तत्व आशा नै हो, त्यो नभए चेतनाको क्रान्ति सम्भव हुने थिएन, यस बखत मेरो आत्मक्रान्तिको बीजले टाउको उठाएको छ । स्वःपे्रम र स्वःधर्ममा फर्किएको छु अब । दुई बीसे पछिको प्रौढता बुढ्यौली नै भन्न नसकिए पनि धेरै घेराहरुले घरबार बनाएर होला गति शान्त बनेको छ, बितेका कैयौँ शिशिर वसन्तको कालखण्डमा मलाई ऊर्जा दिने सबैप्रति आदरभाव प्रकट गर्न चाहन्छु । आशाको दियो बालेर आउने आगतलाई अझ धेरै अर्थपूरक बनाउने प्रण मैले आफैँसित गरेको छु ।

(एनआरएनए बेलायतका पूर्व अध्यक्ष खड्का दुई दशकदेखि सपरिवार बेलायतमा बस्दै विभिन्न सामाजिक संघ संस्थामा सक्रिय छन् ।)

टिप्पणीहरू