‘रविले त्यागेका होइनन्, मौका नपाएका हुन्’

‘रविले त्यागेका होइनन्, मौका नपाएका हुन्’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा भूपू गृहमन्त्री रवि लामिछानेले ‘प्रधानमन्त्रीको पद छोडेको’ भन्दै आफूलाई त्यागी नेताको रुपमा प्रस्तुत गर्न खोजेको पाइन्छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेस छोडेर एमालेसँग गठबन्धन गरेपछि त्यतै लागेका रविलाई शेरबहादुर देउवाको तर्फबाट प्रधानमन्त्री अफर गरिएको चर्चा उतिबेला व्यापक बनाइयो ।    

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुर, बुुटवल इजलासको आदेशपछि पक्राउ गर्न शुक्रबार राति बूढानीलकण्ठस्थित निवासमा पुगेको प्रहरी टोलीलाई पनि उनले भनेका थिए, ‘तपाईंको दुई चारवटा फूली बढ्लान्, तर त्यसको पछि नलाग्नुस्, देशको पक्षमा लाग्नुस्, म पनि प्रधानमन्त्रीको पद छाडेको व्यक्ति हुँ ।’ के लामिछानेले प्रधानमन्त्रीको पद त्यागेकै हुन् त ? सो पार्टीका पूर्व महामन्त्री तथा रविसँग लामो समय संगत गरेको मुकुल ढकाल भन्छन्, ‘यो दाबी निराधार छ ।’

लामिछानेले खुलेआम् ‘प्रधानमन्त्रीको पद छाडेको’ भन्दै सहानुभूति बटुल्ने प्रयास गरिरहँदा ढकालले ‘हौवा नपिटौँ’ भन्दै पुरानो किस्सा सम्झिएका छन् । उनका अनुसार तत्कालीन प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) र रास्वपासहितको गठबन्धन बनाएपछि प्रतिपक्षमा पुगेको कांग्रेसले प्रजातान्त्रिक गठबन्धन बनाउन प्रस्ताव गरेकै हो ।

‘नेपाली कांग्रेसले त्यतिबेला रवि दाइलाई एक वर्षका लागि प्रधानमन्त्री बनाउने र त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेगरी प्रस्ताव गरेको थियो’, ढकाल भन्छन्, ‘यस्तो प्रस्तावपछि रवि दाइ पनि प्रधानमन्त्री बन्न आतुर भइसकेका थिए, तत्कालीन सरकार कसरी छाड्ने र कांग्रेससँगको सहकार्य कसरी प्राकृतिक देखाउने, त्यसको रणनीति बनाउन मलाई निर्देशन दिएका थिए ।’

तर, आफूले लामिछानेलाई संविधानको धारा १०० (२) सम्झाएको ढकालको भनाई छ । ‘प्रचण्डले आफैँ प्रधानमन्त्री बन्न ३० दिनभित्र अनेक तिकडम गर्नसक्ने, त्यो पनि गर्न नसके शेरबहादुर देउवालाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री बनाउन सक्छन् भनेर निचोड निकालियो’, उनी थप्छन्, ‘कांग्रेसबाट आएको उक्त प्रस्ताव एक दुई दिनमा नै कार्यान्वयन हुन नसक्ने र ३० दिनसम्मको टाइमफ्रेममा कांग्रेसले धोका दिए पार्टीलाई ठूलो क्षति हुन्छ भनेर विश्लेषण गरियो ।’

यसरी आफूले प्रधानमन्त्री बन्ने संवैधानिक प्रक्रियाबारे अवगत गराएपछि लामिछाने एक कदम पछाडि हच्किएको ढकालको दावी छ । ‘रास्वपालाई झुक्याएर, छलेर देउवा नै प्रधानमन्त्री बन्नेछन् भनेर कानुन र संविधानका पाटाले देखाइसकेपछि बल्ल रवि दाइ प्रधानमन्त्री नबनिने रहेछ, यो त झुक्याइएको रहेछ भन्नेमा पुगे’, उनले खुलाएका छन् । 

उक्त परिस्थितिलाई ‘प्रधानमन्त्री पद छोडेको’ भन्न नमिल्ने ढकालको तर्क छ ।  ‘इतिहासको कुनै पनि समयमा रवि लामिछानेलाई प्रधानमन्त्री बन्ने अवसर जुरेको थिएन, प्रधानमन्त्री पद छोडेको भन्ने दाबी निराधार छ’, थप स्पष्ट पार्दै भन्छन्, ‘प्रजातान्त्रिक गठबन्धनमा पुग्ने संसदको अंकगणित नाप्न सक्नु हुन्छ र रास्वपा नेतृत्वमा त्यो कति असम्भव थियो, त्यो पनि जोडजाड गर्न सक्नुहुन्छ । जनतालाई भ्रममा पार्नेगरी हौवा नपिटौं ।’

टिप्पणीहरू