गभर्नरमा झन रस्साकस्सी, प्लान ‘बी’ मा सिफ्ट हुने तयारी

नेपाल राष्ट्र बैंकमा आजदेखि रिक्त गभर्नर पदमा भोलि बेलुकी बस्ने मन्त्रिपरिषद् बैठकले नियुक्त गर्ने सम्भावना छ । गभर्नर नियुक्तिको निम्ति गठित सिफारिस समितिको बैठक आजसम्म बसेको छैन । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित समितिमा भूतपूर्व गभर्नर विजयनाथ भट्टराई र अर्थशास्त्री विश्व पौडेल सदस्य छन् ।
भोलि दिउँसो समितिको बैठक राखेर बेलुकी गभर्नर नियुक्ती गर्न प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच सम्भवतः आज राति र बढीमा भोलि बिहानसम्म सहमति हुने सम्भावना छ । बालुवाटार स्रोतका अनुसार गभर्नरको उम्मेदवार एमाले वा काँग्रेसमध्ये कसले सिफारिस गर्ने भन्नेमै कुरो अड्किएको छ । काँग्रेस संस्थापन पक्षले औपचारिक रुपमा रविन्द्र पाण्डे र गुणाकर भट्टलाई अघि सार्दैछ भने एमालेले डा. प्रकाशकुमार श्रेष्ठ र डेपुटी गभर्नर निलम ढुंगानाको नाममा अडान लिने स्रोतको दाबी छ ।
बिचौलिया दीपक भट्टले अघि सारेको पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीको हकमा चर्को विरोध आएपछि राजनीतिक नेतृत्व एक कदम पछाडि हट्न बाध्य भएको बालुवाटार निकटस्थहरु बताउँछन् । उता,विनोद चौधरीसँग ट्युनिङ नमिलेपछि नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट हट्न बाध्य भएका ज्ञानेन्द्र ढुंगानाले आफूलाई काँग्रेसको समर्थन रहेको बताउँदै आएका छन् । तर,चौधरी स्वयमले बूढानीलकण्ठ पुगेर ढुंगानाले नबिलबाट राजीनामा दिँदा फेस सेभिंगका लागि गभर्नरको दौडमा रहेको भन्दै हल्ला गरेको यथार्थ खोलिदिएपछि उनी ठेगान लागेका हुन् । स्रोत भन्छ, ‘काँग्रेसको समर्थन रहेका भनिएका ढुंगानाले नेताहरुको घर जाँदा तेह्रथुमकी सांसद बोकेर किन जानुपर्थ्यो !’
काँग्रेस रविन्द्रको नाममा र एमाले प्रकाशको नाममा केहीबेर अडिन सक्छन् । यसो हुँदा नियुक्ती नयाँ वर्षमा पुग्न सक्छ ।
क्षेत्रीका नाममा समाजको सबै क्षेत्रले चर्को विरोध जनाएको र ज्ञानेन्द्रको योग्यतासमेत नपुग्ने भएपछि भट्ट समूह काँग्रेस र एमालेले प्रस्ताव गर्न लागेका चार जनामध्येबाट आफू निकट हुनसक्नेलाई समर्थन गर्ने मूडमा देखिएको हो । अर्थ मन्त्रालयको सार्वजनिक संस्थानमा नियुक्तीसम्बन्धी मापदण्डबाट ६५ वर्षको उमेर हद हटाएको उक्त समूहले यसअघि क्षेत्रीको नाममा बूढानीलकण्ठ,बालुवाटार र सिंहदरबारलाई ‘कन्भिन्स’ गराएको बताइन्छ । प्रधानमन्त्री र अर्थमन्त्री निकट स्रोतले समेत उक्त अवस्थालाई अस्वीकार गर्न नसक्नुले गत सोमबार रातिको क्याबिनेट बैठकमा उक्त एजेण्डा प्रवेश नगरेपछि खेलोफड्कोका कतिपय भित्री कुरा चुहिएको छ ।
स्रोत भन्छ,‘दिपकले आफ्नो पहिलो योजनाबमोजिम काम नहुने भएपछि अब बूढानीलकण्ठ र बालुवाटारबीच दोस्रो योजना अघि सारेका छन् । एमालेको सिफारिसमा निलमलाई गभर्नर बनाउने,गुणाकरलाई उनको ठाउँमा ११ महिने डेपुटी बनाउने प्रधानमन्त्री र देउवाबीचको रस्साकस्सीमा अन्तिममा मिलनबिन्दू यो पनि हुनसक्छ । तर, काँग्रेस रविन्द्रको नाममा र एमाले प्रकाशको नाममा केहीबेर अडिन सक्छन् । यसो हुँदा नियुक्ती नयाँ वर्षमा पुग्न सक्छ ।’
गभर्नर सिफारिस समितिको बैठक अगावै उच्च राजनीतिक तहमा हुन लागेको सहमतिबारे सोधिएको जिज्ञासामा एक जना सदस्यले ‘नो कमेन्ट’ भनेका छन् । अर्का एक जनाले भने, ‘बिचौलियाले सबैथोक चलाउने भएपछि किन पढ्नु,किन इमान्दार हुनु ? सबै क्षेत्र सकिने मेसो हो यो ।’
टिप्पणीहरू