टिकटक हत्याउने क्रममा ‘स्वामित्व बेच्न वा प्रतिबन्ध खेप्न’ चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ स्वामित्वको टिकटक एप अमेरिकी व्यवसायीलाई खरिद गराउन नयाँ बहाना निकालेका छन् । यसअघि जो बाइडेन सरकारले प्रतिबन्ध लगाएको उक्त एपलाई ट्रम्पले शपथलगत्तै फुकुवा गरिदिएका थिए ।
अहिले सोही एप चिनियाँ व्यवसायीको स्वामित्वबाट अमेरिकीलाई दिलाउन ७५ दिनको म्याद दिइएको छ । अमेरिकालाई स्वामित्व बेच्नुपर्ने शर्तमा उक्त म्याद दिइएको विश्लेषण छ । तर, टिकटकको स्वामित्व रहेको चिनियाँ कम्पनी बाइटडान्सले बिक्रीबारे कुनै ‘डिल’ नभएको जनाएको छ ।
अमेरिकी राष्ट्रपतिले सामाजिक सञ्जालमा लेखेका छन्,‘टिकटकलाई प्रतिबन्धबाट जोगाउन मेरो प्रशासनले निकै ठूलो परिश्रम गरेको छ । त्यसैले ७५ दिनको म्याद दिएको हुँ । टिकटक कम्पनी र चीनसँग खरिद–बिक्रीको सम्झौताबारे काम गर्न तयार छौं ।’
अहिले अमेरिकी कम्पनी ओराकल र ब्ल्याकस्टोनले टिकटक किन्न प्रयास गरिरहेका छन् । यसअघि टिकटकमाथि लगाइएको प्रतिबन्धको विरोधमा अमेरिकीहरुले खुलेर आफ्नो धारणा राखेका थिए ।
तर,वासिङ्गटनस्थित चिनियाँ दूतावासले रोयटर्ससँगको कुराकानीमा अमेरिकी दाबीलाई कूटनीतिक तवरले अस्वीकार गरेको छ । भनिएको छ, ‘चीनले टिकटकको स्वामित्व र बेचबिखनबारे धेरै पटक आफ्नो अडान राखेको छ । उद्यमहरूको वैध अधिकार,हितको सम्मान र संरक्षण तथा बजार अर्थतन्त्रको आधारभूत सिद्धान्तहरू उल्लंघन गरिने अभ्यासहरूको चीन सदैव विरोध गर्दछ ।’
अमेरिकामा आधा जनसंख्या अर्थात १७ करोडले टिकटक चलाउँछन् । सुरक्षाको कारण देखाउँदै गत जनवरीमा प्रतिबन्ध लगाउँदा करिब १४ घण्टा सेवा अवरुद्ध भएको थियो । अमेरिकी कम्पनीलाई टिकटक बेच्न दबाब दिँदै अमेरिकाले पटक पटक गरेको प्रयासको सर्वत्र विरोध भएको छ ।
अहिले अमेरिकी कम्पनी ओराकल र ब्ल्याकस्टोनले टिकटक किन्न प्रयास गरिरहेका छन् । यसअघि टिकटकमाथि लगाइएको प्रतिबन्धको विरोधमा अमेरिकीहरुले खुलेर आफ्नो धारणा राखेका थिए । बाइटडान्सले गत डिसेम्बरमा अमेरिकी उच्च अदालतमा दायर गरेको मुद्दामा समेत ‘स्वामित्व बेच्न वा प्रतिबन्ध खेप्न’ तयार हुन आदेश दिएको थियो ।
टिप्पणीहरू