मेयरका मान्छे अवैध धन्दामा, मेसिन र ट्रिपर प्रशासनको जिम्मामा

टेक सिंह धामी
कैलालीको गोदावरी नगरपालिकाको खैराना खोलामा धमाधम अवैध रुपमा उत्खनन भइरहेको छ । प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालसहितको टोलीले छड्के अनुगमन गर्ने क्रममा उक्त दृश्य देखिएको थियो ।
हिजो हमालसहितको टोलीले अनुगमन गर्ने क्रममा अवैध उत्खनन भइरहेको भेटिएकोमा केही मेसिन र मानिसलाई नियन्त्रणमा लिइएको सिडिओ हमालले जानकारी दिए । उनका अनुसार ठेकेदारले मापदण्डविपरीत उत्खनन् गर्न नहुने स्थानमा उत्खनन् गरिरहेको पाइएको थियो । त्यसपछि त्यहाँ प्रयोगमा रहेका जेसिबी र ट्रिपर प्रहरीले नियन्त्रणमा लिएको हो ।
मालाखेती प्रहरीका प्रमुख डीएसपी गङ्गा थापाले खैरानाबाट ठेकेदारको बदमासीपछि २ वटा जेसिबी र एउटा टिपरसहित मान्छे पनि समातिएको जानकारी दिए। उनका अनुसार अब सोबारे थप कारबाही अघि बढाईंदै छ ।
खैरानामा अवैध रुपमा जेसिबी प्रयोग गरेर आईईईविपरीत ठेकेदार चिरञ्जीवी भट्टले उत्खनन् गर्दै आएका हुन्् । उनले अवैध उत्खनन पहिलेदेखि गर्दै आएकोमा उनी हिजोमात्र फेला परेका हुन् ।
स्रोतका अनुसार अवैध उत्खनन्मा प्रयोग भएका जेसिबी र टिपर भने गोदावारीकै श्रीपुर क्रसरको हो । उक्र कम्पनीले पनि अवैध धन्दा चलाएको आरोप छ । अवैध उत्खनन्मा संलग्न ठेकेदार भट्टले नगरपालिकासँगको मिलेमतोमा काम गर्दै आएको बताइन्छ । नगरपालिकाका मेयर स्वयंले पनि ठेकेदार आफ्नो मान्छे भएको स्वीकारेका छन् ।
मेयर वीरेन्द्र भट्टले ठेकेदार आफ्नै मान्छे भएको र गलत गरेको भए सो विषयमा बुझेर कारबाही गर्ने जनाए । अवैध रुपमा उत्खनन् गराउन मेयरले नै पैसा बुझेर मेसिन प्रयोगको छुट दिएको आरोप पनि छ । हालको अवस्थामा नगरपालिकाको संकेत विना अवैध उत्खनन् सम्भव नभएको कर्मचारीहरु बताउँछन् ।
टिप्पणीहरू