क्याबिनेटअघि कामु गभर्नर तोकियो, बोलाइएन सिफारिस समितिको बैठक

क्याबिनेटअघि कामु गभर्नर तोकियो, बोलाइएन सिफारिस समितिको बैठक

मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे डाकिएको छ । बैठकअघि बैंकका दुई जना डेपुटीमध्ये वरिष्ठताको आधारमा निलम ढुंगाना तिम्सिनालाई अर्थ मन्त्रालयले कायम मुकायमको जिम्मेवारी तोकेको छ ।

क्याबिनेटको आजको बैठकमा गभर्नर नियुक्तिलगायतका विषयमा छलफल हुने बताइएको थियो । तर, सिफारिस समितिको बैठक दिउँसो साढे १ बजेसम्म बोलाइएको छैन । राष्ट्र बैंक ऐनमा गभर्नर पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नयाँ गभर्नर नियुक्ति गर्नुपर्ने व्यवस्था छ । 

महाप्रसाद अधिकारीको गभर्नरको पदावधि अस्ति राति १२ बजेदेखि सकिएको हो । तर सरकारले कायम मुकायमको जिम्मेवारी पनि आजको मितिमा दिएकाले पछिल्लो ३६ घण्टा केन्द्रीय बैंक नेतृत्वविहीन भएको हो ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थशास्त्री विश्व पौडेल सदस्य छन् । सत्ता गठबन्धनका मुख्य दल नेपाली काँग्रेस र एमालेबीच कसले गभर्नरको उम्मेदवार सिफारिस गर्ने भन्नेबारे चर्को विवाद देखिन्छ । बिचौलिया र स्वार्थ समूहहरु पनि आफू अनुकूलका उम्मेदवारलाई गभर्नर बनाउन जोडतोडले लागेको देखिन्छ ।
 

टिप्पणीहरू