ट्रम्पको घोषणापछि विश्व सेयर बजार ध्वस्त, भारतीयले गुमाए २० लाख करोड

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका अधिकांश मुलुकबाट आयात गरिने सामानमा भन्सार वृद्धिको घोषणा गरेपछि विश्व सेयर बजारमा उथलपुथल आएको छ । अमेरिकापछि युरोप र एसियाका प्रमुख सेयर बजार समेत प्रभावित भएका छन् ।
चीनको सांघाई कम्पोजिटमा ८ प्रतिशतसम्मको गिरावट आएको छ भने हङकङको हाङसेनमा करिब १३ प्रतिशतको गिरावट देखिन्छ । हङकङमा एचएसबीसी बैंकको सेयरमा १५ प्रतिशतभन्दा बढी र स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयरमा १८ प्रतिशतसम्म कमी आएको बीबीसीले जनाएको छ ।
जापानी सेयर बजार निकेमा ६.३ प्रतिशतको गिरावट आएको छ । भर्खरै कार्यालय खुलेको युरोपेली सेयर बजारमध्ये जर्मनीको ड्याक्स इन्डेक्समा करिब १० प्रतिशत र लन्डनको एफटीएसई हन्ड्रेडमा ६ प्रतिशतको गिरावट आएको छ ।
भारतीय इक्विटी बजारमा लगानीकर्ताले १० सेकेण्डमा २० लाख करोड भारतीय रुपैयाँ गुमाएका छन् । भारतीय समाचारमाध्यमहरुका अनुसार उक्त अवस्था पछिल्लो १० महिनायताकै कमजोर हो ।
टिप्पणीहरू