रित्तो गाग्री छाडेपछि प्रधानमन्त्री कार्यालयमा ‘इन्ट्री’

रित्तो गाग्री छाडेपछि प्रधानमन्त्री कार्यालयमा ‘इन्ट्री’

धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ (राई)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । हिजो बेलुकी काठमाडौं आइपुगेको साम्पाङ नेतृत्वको प्रतिनिधिमण्डलले केही बेरअघि सिंहदरबार पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेको छ । 

सो क्रममा मेयर साम्पाङले लामो समयदेखि धरानबासीले भोग्दै आएको खानेपानी समस्याबारे जानकारी गराएका छन् । संघीय सरकारले चाहेमा धरानबासीले छोटो समयमै खानेपानीको समस्याबाट मुक्त हुने साम्पाङको तर्क थियो । जवाफमा प्रधानमन्त्री ओलीले पनि संघीय सरकारको तर्फबाट बजेट विनियोजन गरिदिने विश्वास दिलाएको बताइन्छ । ओलीको भनाई उद्धृत गर्दै प्रधानमन्त्री कार्यालयको स्रोत भन्छ, ‘संघीय सरकारले धरानबासीको लागि आवश्यक छलफल गरेर बजेटको व्यवस्था गर्नेछ, ढुक्क भएर फर्किनुस् । बरु गएर जनतालाई समाधानको प्रक्रिया अघि बढिसक्यो भनेर सुनाउनुहोला ।’

लगत्तै क्याबिनेट बैठक बसेको कारण प्रधानमन्त्री ओली र मेयर साम्पाङबीच आधा घण्टा मात्रै कुराकानी भएको बुझिएको छ । 

गत माघ ८ गते पनि प्रधानमन्त्री ओलीलाई भेट्ने भन्दै मेयर साम्पाङ रित्तो गाग्री बोकेर काठमाडौँ आएका थिए । सोही थोत्रो र कुच्चिएको गाग्री बोकेर सिंहदरबार छिर्ने प्रयास गरेका उनलाई प्रधानमन्त्रीले भेट दिएका थिएनन् । त्यतिबेला खानेपानीमन्त्री प्रदीप यादवलाई भेटेर रित्तो हात फर्किएका थिए ।

टिप्पणीहरू