उडान डिले र डाइभर्टले विमानस्थलमा बिचल्ली

उडान डिले र डाइभर्टले विमानस्थलमा बिचल्ली

मुलुकको सबैभन्दा जेठो विमानस्थल ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल’ केही दिनयता अस्तव्यस्त देखिन्छ । जहाजको चाप, खराब मौसम, विमानस्थल मर्मतलगायतका कारणले यात्रुहरु मर्कामा परेका छन् । 

उडान डिलेले यात्रुहरु हैरान छन् । यता, प्रदूषणका कारण काठमाडौं धुम्मिदाँ विमान धमाधम डाइभर्ट भइरहेको छ । जसले गर्दा यात्रुहरुले अनाहकमा दुःख पाइरहेका छन् । भिजिबिलिटी नहुँदा आन्तरिक उडान धमाधम रद्द गरिएको छ । 

जसका कारण आफ्नो गन्तव्य जानका लागि विमानस्थलमा घण्टौं कुरिसकेका यात्रुहरुको बिचल्ली भइरहेको छ । विमानस्थलमा एक सातायता धेरै नै भीड छ । विमानस्थलको अवस्था हेर्दा त्यहाँ कुनै धर्ना भइरहेकोजस्तो देखिन्छ । फ्लाइटको पर्खाइमा कोही भुइँमा बसेका छन्,कोही गफिइरहेका छन् ।

कोही समयको सदुपयोग गर्नका लागि ल्यापटपमा काम गरिरहेका छन् । उडान डिले र डाइभर्टले स्वदेशीको मात्र होइन, विदेशीको पनि बिजोग भएको छ । उभिदाँउभिँदै खुट्टा दुखेपछि उनीहरु भुइँमा थचक्क बसेका छन्  ।

विमानस्थलका प्रवक्ता रिन्जी शेर्पा खराब मौसमले डोमेस्टिक फ्लाइटलाई निकै प्रभाव पारेको बताउँछन् । धेरै आन्तरिक उडान रद्द भएको उनको भनाइ छ । जनआस्थासँग उनले भने,‘मौसमको खराबीले डोमेस्टिक फ्लाइटलाई अलि बढी नै प्रभाव पारेको छ । इन्टरनेशनल फ्लाइट भइरहेको छ । तर,डोमेस्टिकचाँहि धेरै क्यान्सिल भएको छ । भिजिबिलिटी नभएकाले उडान रद्द गरिरहनुपरेको छ । कतिपय उडान डिले भएको छ ।’

उनका अनुसार विमानस्थलको मर्मत कार्य चलिरहेको छ । स्तरोन्नतिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले राति ११ बजेदेखि बिहान ७ बजेसम्म उडान ठप्प पारेर मर्मत कार्य थालेको थियो । हाल बिहान ६ बजेदेखि राति १२ बजेसम्म विमानस्थल सञ्चालन हुने प्रवक्ता शेर्पाले जानकारी दिए ।

टिप्पणीहरू