बिसु पर्व : सुदूरपश्चिमको मौलिकता

बिसु पर्व : सुदूरपश्चिमको मौलिकता

-दीपकदत्त भट्ट ( दिपु )

नयाँ वर्षको आगमनसँगै सुदूरपश्चिम प्रदेशमा एक विशेष पर्व मनाइन्छ–बिसु पर्व । यसलाई सुदूरपश्चिमेलीको पहिलो विश्व पर्व पनि भन्ने गरिन्छ । समयको रेखामा परिवर्तन आएपनि यो पर्वको सांस्कृतिक महत्व, मौलिकता र सामाजिक एकताको सन्देश आज पनि उत्तिकै जीवित छ ।

मौलिकता र परम्पराको मिश्रण

बिसु पर्व विशेषगरी बैतडी, डडेल्धुरा, डोटी, अछाम, बझाङ, बाजुरालगायतका पहाडी जिल्लाहरूमा मनाइन्छ । कर्णाली प्रदेशको केही भू–भाग र भारतको कुमाउ तथा गढवाल क्षेत्रका नेपाली मूलका समुदायमा समेत यो पर्वको प्रभाव देखिन्छ । नयाँ वर्ष अर्थात् वैशाख १ गतेको दिनदेखि शुरु हुने यो पर्व तीन दिनसम्म धुमधामसँग मनाइन्छ ।

यो पर्व वैशाखको पहिलो दिन शुरु हुन्छ । दोस्रो र तेस्रो दिन विभिन्न गतिविधिहरु हुन्छन् । घर–घरमा विविध प्रकारका मिष्ठान्न परिकार पकाइन्छ, आफन्तजनहरू भेला हुन्छन्, युवायुवतीहरूले पारस्परिक ख्याल–ठट्टा र रमाइलोमार्फत् देवर–भाउजू, साली–भिनाजु, दाजु–भाइ, साथीसंगीबीचको आत्मीय सम्बन्ध उजागर गर्छन् ।

बिसु पर्वको सामाजिक–सांस्कृतिक महत्व

बिसु केबल एक रमाइलो गर्ने पर्व होइन्, यसले पारिवारिक सन्तुलन, सहकार्य र सामाजिक सद्भावनाको सन्देश दिन्छ । युवायुवतीबीचको संवाद यस पर्वमा निकै खुला देखिन्छ, जुन परम्परागत समाजमा एकदमै दुर्लभ मानिन्छ ।
भाउजू र देवरबीचको मजाकिया सम्बन्ध झल्काउने गीत–सङ्गीत, हास–परिहासहरू बिसु पर्वका विशेषता हुन् । सामूहिकता बिसुको मूल आत्मा हो । गाउँ–गाउँमा भेला भई गीत गाउने, नाँच्ने, सँगै खानपिन गर्ने चलन अझैपनि प्रचलनमा छ ।

भारतीय सीमावर्ती क्षेत्रसँगको सांस्कृतिक सामीप्यता

भारतको उत्तराखण्ड राज्य अन्तर्गतको कुमाउँ र गढवाल क्षेत्रमा बसोबास गर्ने नेपाली भाषी समुदायले पनि यो पर्व मनाउँछन् । यसले सुदूरपश्चिम नेपालको सांस्कृतिक सीमा राष्ट्रिय सीमानाभन्दा बाहिरसम्म फैलिएको प्रष्ट पार्दछ । 

संरक्षण र प्रवद्र्धनको आवश्यकता

यस्तो मौलिक पर्वलाई आधुनिकता र प्रविधिसँग समायोजन गर्दै संरक्षण गर्नु आजको आवश्यकता हो । विशेषगरी, युवापुस्तामा यसको महत्व उजागर गर्ने खालका कार्यक्रमहरू, विद्यालय–कलेजहरूमा छलफल, सञ्चारमाध्यममा यसको प्रचारप्रसार गर्न जरुरी छ । 

सरकारले समेत बिसु पर्वलाई पर्यटनसँग जोडेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा चिनाउने प्रयास गर्नुपर्छ । किनभने यो पर्वले केबल मनोरञ्जन मात्र होइन, सामाजिक बन्धन, संस्कृति, ऐक्यबद्धता र नेपालीपनको परिचय दिन्छ ।

निष्कर्षतः बिसु पर्व केबल सुदूरपश्चिमको परम्परा नभई पहिचानको प्रतीक हो । यसलाई बचाउनु, मनाउनु र सम्पूर्ण देशमा चिनाउनु हाम्रो साझा जिम्मेवारी हो ।

टिप्पणीहरू