युथ सेलिब्रेसनका सहभागी भन्छन् : केपी ओली पहिले मनपर्थ्यो, अहिले अहँ

नेकपा (एमाले) माथि भृकुटीमण्डमा आयोजित युथ सेलिब्रेसनमा ‘निन्जा टेक्निक’ अपनाएको आरोप लागेको छ । कार्यक्रममा भीड देखाउन चल्तीका कलाकारलाई महंगो रकम तिरेर ल्याएको विपक्षीहरुको दाबी छ ।
कार्यक्रममा सहभागीमध्ये आधाभन्दा बढीले राजनीतिक हिसाबले नभई कलाकारलाई हेर्न भृकुटीमण्डप पुगेको बताउनुले पनि उक्त आरोपलाई बल पुगेको बताइन्छ । हुनत, कार्यक्रमको ढाँचा र स्वरुप कस्तो गराउने, त्यो आयोजक राष्ट्रिय युवा संघको निजी मामिला हो । तर, कार्यक्रममा उपस्थिति बढाउनकै लागि नाम चलेका कलाकारलाई मञ्चमा उभ्याइयो ।
मुलुकको सबैभन्दा ठूलो वामपन्थी पार्टी हुनुको नाताले वैचारिक–राजनीतिक कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा यस्ता सतही कार्यक्रम गरिएको भन्दै एमालेकै एकथरी कार्यकर्ता असन्तुष्ट छन् । कार्यक्रमस्थलबाट फर्किएका एक जना भन्छन्, ‘भीड देखाउनैका लागि पछिल्लो काइदा अपनाइएको हो !’
उनका अनुसार युवा पुस्ताकी चर्चित गायिका एलिना चौहानको प्रस्तुतीमा दर्शक मजाले झुमेका थिए । उनले ‘धोकेबाज’, ‘कट्टा हान्दिन्छु’, ‘दुश्मन हेरेको हेर्यै’ जस्ता पुँजीवादी गीत गाउँदा साम्यवादलाई आदर्श मान्ने पार्टी महासचिव शंकर पोखरेल छेवैमा थिए ।
‘चर्चित गायिकाले गीत गाउँदा बाटोमा हिँड्दै गरेका मान्छे पनि एकछिन झुमिहाल्छ नि, कुन पार्टीको कार्यक्रम हो, त्यो मतलब हुँदैन’, ती कार्यकर्ताले भने । गायिका चौहानले एउटा कार्यक्रममा प्रस्तुती दिएवापत कम्तीमा ६० हजारदेखि माथि लाखौं पारिश्रमिक लिने गरेको बताइन्छ ।
त्यस्तै, कार्यक्रममा एड्ज, पूर्ण राई एण्ड दाजुभाईहरु, सुशान्त एण्ड रागाजस्ता अहिलेका चर्चित ब्याण्डले समेत प्रस्तुति दिएका थिए । यी सबै ब्याण्डले एउटा कार्यक्रमको दुईदेखि तीन लाख पारिश्रमिक लिने गरेको पाइएको छ ।
ब्याण्डमा धेरै कलाकार सम्मिलित हुने भएकाले महंगो पारिश्रमिक लिनु स्वाभाविक पनि हो । समग्रमा आज आयोजकले कलाकार उपस्थित गराउनको लागि मात्रै १० देखि १५ लाख खर्च गरेको अनुमान गरिएको छ ।
रोचक पक्ष के पनि देखियो भने कार्यक्रममा सहभागी केही दर्शकले नै खुलेर ‘केपी ओली मन पर्दैन’ भनेको पाइयो । विभिन्न युटुबरसँग कुरा गर्दै उनीहरुले कन्सर्टको लागि मात्र कार्यक्रममा आएको बताए । एक युवतीले भनेकी छन्, ‘म एमाले–सेमाले होइन, जोन राईको गीत सुन्न मात्र आएको हुँ ।’
त्यस्तै, अर्की युवतीले आफूलाई प्रधानमन्त्री ओली मन नपर्ने कुरा निर्धक्कसँग भनिन् । ‘पहिला त केपी ओली मनपथ्र्यो अहिले पर्दैन, आज एड्ज ब्याण्डको गीत सुन्न आएकी हुँ’, उनको भनाई छ ।
टिप्पणीहरू