प्रसाईं र जगमानबारे अध्यक्षले जवाफ दिनुपर्ने एमाले नेताको माग

नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशको एक कार्यक्रममा स्थायी समिति सदस्यलाई बोल्दाबोल्दै चिट थमाइएको छ । धनगढीमा आयोजित पार्टीको जागरण सभामा स्थायी समिति सदस्य कर्णबहादुर थापाले दुर्गा प्रसाईं र जगमान गुरुङको सन्दर्भ उठाएपछि चिटरुपी डण्डा बर्साइएको छ ।
थापाले ‘ती दुईलाई कसले एमालेभित्र कसले ठाउँ दिएको ?’ भनेर सोध्ने बितिक्कै नबोल्न चिट थमाइएको थियो । हिजोको जागरण सभामा बोल्दै उनले प्रसाईंलाई चरित्र र प्रवृत्ति थाहा नपाउँदै एमालेको केन्द्रीय सदस्य किन बनाएको ? भनेर पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलक्षित प्रश्न सोधेका हुन् । त्यसपछि प्रदेश कमिटीका सचिव तथा कार्यक्रम सञ्चालक रणबहादुर चन्द र उनका सहयोगीले पटक पटक चिट दिएको देखिन्थ्यो ।
त्यसपछि पनि नरोकिएका थापाले जगमानलाई किन प्रज्ञा प्रतिष्ठानको कुलपति बनाइयो भनेर उस्तै सोधनी गरे । अगाडि भने, ‘उनीभन्दा बुद्धीजीवी धेरै थिए । हाम्रा प्रश्नको सही जवाफ दिन जरुरी छ । दुर्गा र जगमानबारेको प्रश्न एमालेले दिनुपर्छ, हामीले त्यो गल्ती गरेका हौं भन्नुपर्छ ।’ प्रसाईं र गुरुङले नै अहिले एमाले र गणतन्त्रविरुद्ध बढी प्रहार गरेको थापाको निश्कर्ष छ ।
नेतृत्वमाथि प्रहारर गरिएको उक्त कार्यक्रममा केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्ट पनि उपस्थित थिए । थापाले जागरणसभा निकै कमजोर देखिएको जनाउँदै घुमाउरो तरिकाले असन्तुष्टि जाहेर गरे ।
उनको भनाई प्रतिकूल बेलामा, अध्यक्ष केपी ओलीलाई अध्यक्ष र पार्टी साधारण सदस्यबाट हटाएको आन्तरिक संकटको समय र कोभिडको बेलामा धनगढीमा धेरै ठूलो सभा गरेको तर अहिले खल्लो देखियो भन्नेमा केन्द्रित थियो ।
अध्यक्ष ओलीले लामो समयदेखि पार्टीभित्र भइरहेको षड्यन्त्रलाई चिरेकाले पनि उहाँको विरोध भएको दाबी गरे । सभामा थापालाई बोल्न नदिने भन्दै त्यसअघि प्रदेश इन्चार्ज लेखराज भट्टले नाम नै किटेका थिए । तर, सबैले बोल्न दिनुपर्छ भनेपछि सात मिनेटको समय दिइयो । थापालाई सभामा आयोजकले नबोलाएको तर उनी आफैँ आएको चर्चा अर्काथरीले गरेका छन् । त्यसैले मन्तव्यको शुरुमै आफ्नो सुदूरपश्चिममा कुनै जिम्मेवारी नभएपनि बोल्ने मौका दिइएको जनाउँदै धन्यवाद भनेका थिए ।
सभामा पोलिटव्युरो सदस्य, प्रदेश सभा संसदीय दलका नेता र सुदूरपश्चिममा एमालेका पहिलो मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नाम पनि इन्चार्ज भट्टले वक्ताहरुको सूचीबाट हटाएका थिए । रावलले आफूलाई बोल्न नदिएको र इन्चार्ज भट्टको कठालो समातेको कुराबारे चर्चा हुने बुझेपछि प्रदेश कमिटीको हिजो बिहानको बैठकमै गएनन् ।
इन्चार्ज भट्टले बैठकमा भने राजेन्द्रसिंह रावलले नागरिक उन्मुक्ति पार्टीका मन्त्री लक्ष्मणकिशोर चौधरीसँग मिलेर आर्थिक चलखेल गर्ने बारेको अडियो सार्वजनिक भएकाले पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज नारदमुनी रानालाई कारबाही गरौ भनेका थिए ।
तर उनले आफूले त्यो कुराको बेवास्ता गरेपछि केन्द्रीय कार्यालय च्यासलमा नारदमुनीले आफ्नो कठालो समातेको बताए । नेता भट्टले त्यसअघि पनि आफ्नो घरमा रावलले कठाले समातेको बताएका थिए ।
राना र चौधरीले दीगो वन व्यस्थापन कार्यविधी बनाउने र त्यसपछि कैलाली, कञ्चनपुका १०० वनलाई सो कार्यक्रममा समेटेर लिन सकिने फाइदाबारे गरेको छलफलको अडियो सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएपछि उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री चौधरीले पदबाट राजीनामा दिइसकेका छन् भने रानाका विषयमा एमाले मौन बसेको छ ।
टिप्पणीहरू