गएरातिदेखि आत्मरतिमा रमाउनेहरुको खेतीपाती बन्द

गएरातिदेखि आत्मरतिमा रमाउनेहरुको खेतीपाती बन्द

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीचको पछिल्लो वार्तालापले सरकार परिवर्तनको सम्भावना टरेको छ । गत साता देउवा उपचारको सिलसिलामा बैंकक गएपछि उहाँ फर्केर आउनासाथ सरकार परिवर्तन हुने हल्ला चलेको थियो । काँग्रेसका केही नेता र मुख्यतः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निरन्तर सरकार ढल्ने अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओली र उहाँको दलका नेताहरु सशंकित भएकाले त्यस्तो आशंका उब्जेको हो ।

तर, गएराति बालुवाटारमा प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाबीच भएको भेटवार्तापछि सरकार नढल्ने निश्कर्षमा एमाले पुगेको बताइन्छ । उक्त भेटमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकको पनि उपस्थिति थियो ।

यता सरकार परिवर्तनको हल्ला गरेर आत्मरतिमा रमाउनेहरूको खेतीपाती बन्द भएको एमाले नेता विष्णु रिजालको ठहर छ । ‘मुलुकमा अस्थिरता सिर्जना गर्ने र त्यसैमा आफ्नो भविष्य खोज्नेहरूका लागि एमाले–कांग्रेसबीचको सहमति र केपी शर्मा ओली नेतृत्वको सरकार मुख्य अवरोध देखिएकाले चलाइएका हल्ला हिजो रातिको छलफलपछि समाप्त भएका छन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

आन्दोलनरत शिक्षकसँग आजै सहमति हुने र प्रक्रियागत जटिलता मिलाएर गभर्नरको नियुक्ति यहि साता हुने दाबी उनको छ ।

टिप्पणीहरू