अविवाहित प्रधानमन्त्रीहरुको त्यो प्रेमिल जिन्दगी

अविवाहित प्रधानमन्त्रीहरुको त्यो प्रेमिल जिन्दगी

कृष्णप्रसाद भट्टराई (किसुनजी) नेपाली राजनीतिका एक प्रखर नेता । उनी दुईपटक प्रधानमन्त्री बने – पहिलोपटक ०४७ मा अन्तरिम सरकारको नेतृत्व गर्दै र दोश्रोपटक ०५६ मा । ८६ वर्ष हुँदा ०६७ सालमा दिवंगत भएका उनी आजीवन अविवाहित रहे । यद्यपि, बेलाबखत द्विअर्थी वाक्य बोलेर सबैलाई हैरान पार्थे । यस्तैमा एकपटक ‘किन बिहे गर्नुभएन ?’ भन्ने पत्रकारको जिज्ञासामा हाँस्दै जवाफ दिएका थिए– ‘घरमै दूध दुहुनु पाए गाई किन पाल्नु !’

भारतीय नेता अटलबिहारी बाजपेयी पनि किसुनजीजस्तै सादा जीवनका धनी थिए । उनी तीन पटक प्रधानमन्त्री बने । पहिलोपटक सन् १९९६ मा १३ दिनलाई । ९३ वर्षको उमेरमा सन् २०१८ मा परलोक गइसकेका उनी किसुनजीजस्तै अविवाहित थिए । कृष्णप्रसाद भट्टराई र अटलबिहारी बाजपेयीबीचको अर्को समानता भनेको दुवै एक समय पत्रकारिता पनि गर्थे । भट्टराईले नेपाली कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’ सम्पादन गरेका थिए भने सोभियत नेता निकिता ख्रुश्चेभको अन्तर्वार्ता लिने उनी पहिलो र अन्तिम पत्रकार हुन् । त्यस्तै बाजपेयी पनि ‘पाञ्चजन्य’, ‘राष्ट्रधर्म’ ‘दैनिक स्वदेश’ र ‘वीर अर्जुन’ पत्रिकाको सम्पादक थिए । दुवैको जन्म सन् १९२४ मै भएको हो । भट्टराई डिसेम्बर १३ मा र बाजपेयी डिसेम्बर २५ मा । यो अर्थमा भट्टराई बाजपेयीभन्दा १२ दिन मात्र जेठा थिए ।

सन् १९४० मा बाजपेयी ग्वालियरको भिक्टोरिया कलेजमा पढ्थे । उमेर थियो– १६ । सोही वर्ष कलेजमा नयाँ छात्राको प्रवेश भयो । ग्वालियरका युवती प्रायः काला र गहुँगोरा हुन्थे तर नयाँ प्रवेशी छात्रा भने गोरी थिइन् किनभने उनी काश्मिरकी थिइन् । राजकुमारीको बुबा चाँदनारायण हक्सर काश्मिरी ब्राह्मण थिए तर जब काश्मिरबाट हिन्दूहरूको पलायन शुरु भयो उनी ग्वालियर पुगे । राजकुमारीको पहिलो दिन कक्षाका ‘टपर’ छात्र अटलबिहारी बाजपेयीसित आँखा जुध्यो । बाजपेयी पढालु थिए, हरेक विषयमा वादविवाद र विषयगत व्याख्या गर्थे । कलेजमा बर्सेनि हुने वादविवाद प्रतियोगिता उनैले जित्थे । एक किसिमले कलेजमा धाक जमाएर बसेका थिए । कक्षामा उनीसँग बस्न विद्यार्थीबीच घम्साघम्सी पथ्र्यो । त्यसो त बाजपेयीको ध्यान पढाइमै हुन्थ्यो, दायाँ–बायाँ लाग्दैनथे तर कक्षामै एक्ली गोरी छात्राप्रति उनी पनि आकर्षित नभई बस्न सकेनन् । फलतः विस्तारै दुबै जनाले इशारा इशारामा प्रेम गर्न थाले । 

आजभोलिजस्तो फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एपजस्ता सामाजिक सञ्जाल थिएनन्, त्यसैले भेटघाट, प्रेमपत्र आदानप्रदानको तहसम्म पुग्न निकै समय लाग्यो । जब दुवैले एकार्काबिना बाँच्न नसक्ने महसुस गरे तब भने दुबैले भेटघाटलाई बाक्लो बनाए । तैपनि, त्यसबेलासम्म मनको कुरा राख्ने हिम्मत भने गरेका थिएनन् । बाजपेयी सानैदेखि कविता कोर्थे । कवि हृदयले पहिलोपटक प्रेमलाई कवितामा उतार्न थाले । मनको बह कवितामा उतारे । प्रेमकविता लामै भयो । उनी यो कविता राजकुमारीको हातमा पुगोस् भन्ने चाहन्थे तर कसरी ? यसका लागि तेस्रो व्यक्तिलाई प्रयोग चाहँदैनथे । राजकुमारीसितको प्रेम कसैले थाहा नपाओस् भन्ने चाहन्थे । त्यसैले कविता–पत्र राजकुमारीको हातमा पार्ने उपाय सोचे । दुवै पुस्तकालयमा समय व्यतित गर्न रुचाउँथे । यसबीच बाजपेयीले राजकुमारी प्रायः कुन पुस्तक पढिराखेकी हुन्छिन् भन्ने थाहा पाइसकेका थिए । त्यसैले सर्वप्रथम आफ्नो कवितालाई दुई पटक पट्याए अनि पुस्तकालयमा गएर राजकुमारीले पढ्ने पुस्तकभित्र राखिदिए ।

नभन्दै राजकुमारी पुस्तकालय पुगिन् र आफूले सधैँ पढ्ने पुस्तक पल्टाउन थालिन् । पुस्तकभित्र हस्तलिखित कविता देखिन् र खुसुक्क खल्तीमा हालेर निस्किइन् । उता, बाजपेयी पत्ररुपी कविताको जवाफ कुरेर बसे । निकै दिन पर्खे तर जवाफ पाएनन् । पढाइ सकिने समय भयो तर पनि जवाफकै प्रतीक्षामा बसिरहे । पढाइ सकियो र उनी निरास मनले घर फर्के । ‘अटलबिहारी बाजपेयी ंः अ म्यान फर अल सिजन्स’ पुस्तकका लेखक किङ्शुक नागका अनुसार राजकुमारीले कविताको जवाफ उस्तै शैलीमा उसैबेला दिएकी थिइन् । पत्र भित्र लुकाएर उनले बाजपेयीलाई जुन पुस्तक दिएकी थिइन्, यथार्थमा सो पुस्तक बाजपेयीले कहिल्यै खोलेर हेरेनन् । यसबीच, राजकुमारीको बसाइ ग्वालियरबाट दिल्ली पुग्यो तर यसबारे पनि बाजपेयीले थाहै पाएनन् । उनी भने प्रेमिकाको प्रतीक्षामा ग्वालियरमै बसिरहे । जब उनले यो कुराको जानकारी पाए त्यसबेलासम्म एक वर्ष बितिसकेको थियो । तर, उनले प्रेमिकालाई बिर्सन भने सकेका थिएनन् । यसबीच, उनी राजनीतिमा सक्रिय बनिसकेका थिए, आर्य समाज र त्यसपछि राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) मा । राजनीतिकै सिलसिलामा कानपुर पुगे । त्यहाँ फेरि पढ्न शुरु गरे । साथै, आरएसएसको मुखपत्रको सम्पादक बने । अनि सन् १९५७ मा पहिलोपटक लोकसभा सदस्य चुनिए । 

१७ वर्षको दौरान जसरी बाजपेयीको राजनीतिक जीवन अघि बढिरहेको थियो, उता राजकुमारीका बाबुआमाले उनको बिहे सरकारी प्राचार्य बृजनारायण कौलसित गरिदिइसकेका थिए । बाजपेयी र राजकुमारी दुवैजना दिल्लीमै थिए तर दुवै बेखबर । एकदिन जनसंघको प्रचार कार्यक्रमका सिलसिलामा रमजसपिजी कलेजमा भाषण दिन बाजपेयी पुग्दा छात्रावासका विद्यार्थीले उनलाई घेरे । सबैसँग हँसिमजाक गरे । कविता सुनाए । मित्रता गाँसे । त्यसैगरी, फुर्सद मिलाएर एक दिन सोही छात्रावास पुगे । छात्रछात्राको बीच वार्डेन पनि थिए । बाजपेयी र वार्डेनबीच परिचय आदानप्रदान भयो । वार्डेनले आफ्नो नाउँ बिएन कौल भएको बताए । होस्टेलको वार्डेनका साथै दिल्ली विश्वविद्यालयमा पढाउने भनी परिचय दिए । उनीहरूबीच लामै गफ भयो । त्यसबेलासम्म बाजपेयीलाई प्रेमिका राजकुमारीको लोग्नेसित गफिँदै छु भन्ने लागेकै थिएन ।

एक दिन बिएन कौलले सँगै घर जान आग्रह गरे । त्यसबेलासम्म बाजपेयी ठूलै नेता बनिसकेका थिए । तैपनि, उनले नयाँ मित्रको निम्तो स्वीकारे । दुबै जना घर पुगे । ढोका खोल्ने महिलालाई देख्नेबित्तिकै बाजपेयी अचम्भित बने । महिला तिनै २० वर्ष पुरानो प्रेमिका राजकुमारी थिइन् । हक्सरबाट कौल बनिसकेकी राजकुमारी पनि बाजपेयीलाई आफ्नोसामु देखेर नर्भस भइन् । गफिँदै र चियाको चुस्की लिँदै बाजपेयी राजकुमारीलाई हेर्दै बसे । कुराकानीकै क्रममा राजकुमारीले बल्ल थाहा पाइन् कि बाजपेयी अब ग्वालियरवाला रहेनन्, देशको ठूलो नेता भइसकेछन् र जनता उनको भाषण सुन्न मात्रै पनि सयौं किलोमिटरको दूरी तय गर्न पछाडि पर्दैनन् । राजकुमारी बाजपेयीको सफल जीवनी सुनेर प्रसन्न भइन् भने बाजपेयी पनि राजकुमारीको सुखद दाम्पत्य जीवन देखेर खुशी भए । पछिल्लो भेटघाटपछि दुवै जना फेरि नजिकिए । सँगै बिताएका पलको सम्झना गर्दै, राजनीतिक गफ गर्न थाले । यसबीच, बिएन कौलको सरुवा परराष्ट्र सेवामा भयो । निकै ब्यस्त हुन थाले । स्मरणीय छ, त्यसबेला बाजपेयी जनता दलको सरकारमा विदेशमन्त्री भइसकेका थिए । बाजपेयीले राजकुमारी दिल्लीमा एक्लै बसिरहेको थाहा पाएपछि आफ्नो घरमा बस्न आउन प्रस्ताव राखे ।

राजकुमारीले पनि प्रस्तावलाई सहर्ष स्विकारिन् र छोरीहरूसँगै मन्त्रीक्वार्टरमा बस्न गइन् । एकपटक फेरि दुवै प्रेमी÷प्रेमिका एउटै छतमुनि भए । धेरै पटक पत्रकारले राजकुमारीसँग यो नयाँ सम्बन्धलाई बिएन कौलले पनि मञ्जुरी दिएका थिए ? भनेर सोधे । जवाफमा सधैँ ‘हाम्रो यो नयाँ सम्बन्ध र समझदारीलाई लिएर हामीले (आफू र बाजपेयी) कहिल्यै कसैलाई औंला ठड्याउने मौका नदिएको बताउने गर्थिन् । आफू अविवाहित रहेकोबारे बाजपेयीले पनि सधैँ भन्ने गर्थे, ‘म अविवाहित जरुर हुँ तर कुमार होइन ।’ पछि राष्ट्रपति बनेका वैज्ञानिक अब्दुल कलामसँगको पहिलो भेटमा बाजपेयीले हाँस्दै भनेका थिए– ‘हामी दुवै जना अविवाहित हौँ ।’ अब्दुल कलामले भनेका थिए, ‘हो हामी दुबैजना अविवाहित हौँ तर म आजीवन ब्रह्मचारी पनि हुँ ।’ 

पत्रकार कुलदीप नैøयर पनि भन्थे– बाजपेयी प्रधानमन्त्री भएको बेला निवासमा फोन गर्दा सधैं मिसेज कौलले नै उठाउँथिन् । मिसेज कौललाई मनाउन सके बाजपेयीसित अन्तर्वार्ता लिन कोही माइकालालले रोक्न सक्दैननथे । यदि, मिसेज कौललाई मनाउन नसके बाजपेयी फुर्सदिलो भए पनि बरु चुपचाप बस्थे तर पत्रकारसित भेट्दैनथे । स्मरणीय छ, राजकुमारी कौल बाजपेयीको जीवनमा अन्तिम समयसम्म साथमै थिइन् । त्यति मात्र होइन, राजकुमारीकी छोरी नमिता कौललाई धर्मपुत्री बनाएका थिए । बाजपेयी अन्तिम समयमा अल्जाइमरबाट पीडित भए, ह्विलचेयरमा बस्थे, न बोल्न सक्थे न सुन्न । त्यस्तो समयमा पनि राजकुमारीले साथ छाडिनन् । सेवामै समर्पित भइरहिन् । उनले सन् २०१४ सम्म बाजपेयीलाई साथ दिएर बसिन् । उनको सन् २०१४ मा र बाजपेयीको निधन सन् २०१८ मा भयो । बाजपेयीको जीवनमा राजकुमारीको महत्व कति थियो भन्ने कुरा राजकुमारीको अन्त्येष्टिमा भारतको प्रायः सबै दलका नेता–कार्यकर्ता उपस्थित भएबाट छर्लंग हुन्छ ।

एक समय राजकुमारीले बिएन कौलसित सम्बन्धविच्छेद गरेर बाजपेयीसँग बिहे गर्ने सोच पनि नबनाएकी होइनन् तर भारतीय जनता दल र आरएसएसले त्यसो गर्न दिएनन् । उनीहरूको सोचाइ थियो– त्यसो गरेमा दल र बाजपेयीको राजनीतिक उचाइ डाँवाडोल हुन्छ । आरएसएसले त राजकुमारीसितको सम्बन्ध त्याग्नसमेत बाजपेयीमाथि दबाब दिएको थियो तर बाजपेयी मानेनन् । ‘यथार्थमा बाजपेयी राजकुमारीदेखि डराउँछन्,’ आरएसएसका नेता, कार्यकर्ता यसो भन्थे । उमेरले राजकुमारी बाजपेयीभन्दा एक वर्ष मात्र कान्छी थिइन् ।

टिप्पणीहरू