शिक्षकहरु आन्दोलनबाट पछाडि नहट्ने रणनीतिमा

नेपाल शिक्षक महासंघले राजधानीकेन्द्रित सडक आन्दोलनमा सहभागी गराउन देशभरका सामुदायिक विद्यालयलाई सर्कुलर पठाएको छ । आफूहरुको मागप्रति सरकार गम्भीर नबनेको र झारा टार्ने काम गरिरहेको जनाउँदै थप दबाब सिर्जना गर्न महासंघले ७७ जिल्लाकै सामुदायिक विद्यालयका शिक्षकहरुलाई काठमाडौँ आउन परिपत्र गरेको छ ।
यसअघि खुला आह्वान गरेको महासंघले स्थानीय तहको नेतृत्वमार्फत् सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई आन्दोलनमा ‘अनिवार्य सहभागिता’को लागि निर्देशन दिएको छ । जनआस्थाको सम्पर्कमा आएका एक शिक्षक भन्छन्, ‘पहिला ऐक्यबद्धताको लागि विद्यालयको प्रतिनिधित्व गर्दै आन्दोलनमा सहभागी भएका थियौँ, अहिले अनिवार्य भनेर मेसेज आएको छ ।’
कतिपय शिक्षकहरुले काठमाडौँ आउने चाहना नहुँदा–नहुँदै समेत प्रधानानाध्यापकको निर्देशनपछि आन्दोलनमा सहभागी बनेको बताए । चैत २० गतेदेखि जारी आन्दोलन नयाँ वर्षको पहिलो दिन पनि जारी छ ।
सामान्यतयाः नयाँ वर्षको अवसरमा बजारमा देखिने भीड र शिक्षक आन्दोलनले राजधानीका मुख्य सडक अस्तव्यस्त बनेको छ । खासगरी भद्रकाली, बबरमहल, थापाथली, त्रिपुरेश्वर, नयाँबानेश्वर, तीनकुने, कोटेश्वरलगायत ठाउँमा सवारी आवगमन अवरुद्ध भएको छ ।
विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने मागसहित शिक्षहरुले तीन वटा विकल्प अघि सारेका छन् । यसबीच सरकार र शिक्षकहरुबीच पटक पटक वार्ता भए पनि निकास निस्किएको छैन ।
टिप्पणीहरू