पूरानो विश्वविद्यालयलाई पूर्णरुपमा प्रविधिमैत्री बनाइँदै

त्रिभुवन विश्वविद्यालयले सम्पूर्ण सेवालाई अनलाइन पद्धतिमा लैजाने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयबाट प्रवाह हुने सबै सेवालाई आजदेखि शुरु गरेर आगामी जेठ १५ गतेदेखि पूर्ण अनलाइनमा सञ्चालन गर्न लागिएको छ ।
शुरुवाती चरणमा कार्यालयले आजदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदन अनलाइनबाटै दिन सकिने व्यवस्था मिलाएको छ । सूचनामा भनिएको छ, ‘मिति २०८२ वैशाख २ गते प्रातः ११ बजेदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदनको लागि अनलाइन सेवा सञ्चालन हुने र अन्य सेवाहरु क्रमशः लागू गर्दै लैजाने योजनाअनुसार २०८२ जेठ १५ गतेदेखि त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुबाट दिइने सम्पूर्ण सेवाहरु अनलाइनबाट सञ्चालन गरिने जानकारी गराइनछ ।’
जसअनुसार फाराम भरेपछि तोकिएको शुल्क पनि बैंकमार्फत अनलाइन भुक्तानी गरेर समिट गर्नुपर्छ । यसको लागि प्रारम्भिक चरणमा रजिष्ट्रेशन कार्डमा उल्लेख भएबमोजिम मार्कसीटमा एकरुपता भए सोहीअनुसार गर्नुपर्ने अन्यथा कलेक्सन अपसनमा गई सच्याएर सबमिट गराउनुपर्छ ।
अनलाइन वितरण गरिएका मार्कसीटबाहेक सोभन्दा पूर्व वितरण गरिएका पहेँलो सक्कल मार्कसीटमा फरक पर्न गए एप्लिकेसन आईडीको स्लिप र पहेँलो सक्कल मार्कसीट तोकिएको गोप्य शाखामा बुझाउनपर्ने कार्यालयले जनाएको छ । यी सबै प्रक्रिया पूरा गरेपछि प्राप्त निर्देशनअनुसार ट्रान्सक्रिप्ट संकलन गर्न सकिनेछ ।
टिप्पणीहरू