बहिनीको हत्यामा १५ वर्षे दाजुको संलग्नता

बहिनीको हत्यामा १५ वर्षे दाजुको संलग्नता

ललितपुरमा एक बालकले आफ्नै बहिनीको हत्या गरेको खुलेको छ । ललितपुर महानगरपालिका-१२ मंगलबजार बस्ने ११ वर्षीया दुर्गा बोहराको हत्या उनकै १५ वर्षे कान्छो दाईले गरेको पत्ता लागेको हो । 

दुर्गा गत चैत ४ गतेदेखि सम्पर्कविहीन भएकी थिइन् । छोरी हराएपछि आमा भगवतीले जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएकोमा चैत २९ गते वडा नम्बर ९ खपिन्छेँ टोलस्थित बाबुराम अवालेको घरको पानी ट्याङ्कीमा उनको शव फेला परेको थियो । 

प्रहरीका अनुसार विभिन्न विधि र प्रविधिको प्रयोगमार्फत अनुसन्धान गर्दा दुर्गाको हत्यामा उनकै सहोदर दाईको हात रहेको पाइएको छ । अनुसन्धानको क्रममा चैत ४ गते दुर्गा र उनका दाजु पहिला डेरामा बस्ने अवालेको घरतर्फ जाँदै गरेको सीसीटीभी फुटेजले देखाएपछि प्रहरीले अनुसन्धानको सुई त्यता घुमाएको थियो । 

दाजुसँग सोधपुछ गर्दा कोठा सर्दा छुटेका कपडा लिन गएको तर सामान्य विवाद हुँदा बहिनीमाथि कुटपिट गरी सो ठाउँमा रहेको नाईलनको डोरीले पछाडिबाट घाँटी कसेर भुईंमा लडाई भागेको बयान दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो दिन दाजु बहिनी दुवैले लागूऔषधको ट्याब्लेट खाएका थिए । त्यसको नशामा घटना हुन पुगेको निष्कर्ष निकालिएको छ । 

यता, चैत ५ गते बिहान नशाले छोडेपछि आफूले बहिनीमाथि आक्रमण गरेको सम्झी त्यसतर्फ गएर हेर्दा मृत्यु भइसकेको देखेपश्चात् लाश पानी ट्याङ्कीमा हालेर सिमेन्टले बनाएको ढक्कनले छोपेर गएको बयान दिएको प्रहरीले जनाएको छ । प्रहरीले हिजो उनलाई नियन्त्रणमा लिएको हो । 

घटनाको थप अनुसन्धान र आवश्यक कारबाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू