थाइल्याण्डबाट गाँजा ओसार्ने थप दुई भारतीय पक्राउ

थाइल्याण्डको राजधानी बैंककबाट काठमाडौंमा गाँजा ओसार्ने थप दुई जना भारतीय नगरिक समातिएका छन् । थाई एयरवेजको उडान नम्बर टिजी ३१९ मा आज दिउँसो साढे १ बजे काठमाडौँ आइपुगेका एक पुरुष र महिला गाँजासहित पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा राहादानी नम्बर टि१९२०३९६ रहेका केरलाका अन्साद अजिज र सी९१३८०२३ राहदानी वाहक केरलाकै सजिथा कुन्नाथ अब्दुल अजिज छन् । उनीहरुको साथमा रहेको झोला शंका लागि चेकजाँच गर्दा चकलेटको प्याकेटमा लुकाई ल्याएको साढे सात र ५ किलो ६०० ग्राम अवैध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुलाई उक्त अवैध झोलासहित आवश्यक कानुनी कार्वाहीको लागि नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोको जिम्मा लगाइएको बताइएको छ । पछिल्लो समय बैंककबाट गाँजा ओसार्ने प्रवृत्ति बढेको छ ।
गएराति थाई एअरवेजकै उडान नम्बर टिजी ३०९ को उडानमा रहेका भारतीय नागरिक विशाक विजय छ किलो गाँजासहित पक्राउ परेका थिए । राहदानी नम्बर ०४३०२९६ का उनले लगेजमा हालेर ल्याएको गाँजा भन्सार प्रक्रिया पूरा भएपछि सादा पोशाकका प्रहरीले फेला पारेको बताइन्छ ।
उनलाई आवश्यक कारबाहीको निम्ति राति नै गाँजासहित प्रहरीको लागुऔषध अनुसन्धान ब्युरोको जिम्मा लगाइएको छ । त्यसअघि अर्का भारतीय नागरिक गत बिहीबार राति गाँजा ल्याउनेक्रममा फन्दामा परेका थिए । उनको लगेजमा १० केजी गाँजा भेटिएको थियो ।
इरफान अहमद बसिरको लगेजमा उक्त गाँजा चकलेट र चाउचाउको प्याकेटमा हालेर ल्याइएको थियो । त्यसअघि चैत १४ र १६ गते बैंककबाट आएका भारतीयहरुले पनि गाँजा ल्याएका थिए । १४ गते दुई जनाले २० केजी र दुई दिनपछि आएका दुई जनाले पनि छ केजी गाँजा ल्याएका थिए ।
टिप्पणीहरू