नेपालीहरुको वनभोजमा चिनियाँ दङ्ग

चीनको चच्याङ प्रान्तको यिवु शहरमा रहेका नेपालीहरुले विभिन्न कार्यक्रमको आयोजना गरेर नयाँ वर्ष २०८२ मनाएका छन् । वनभोज र रात्रिभोजको आयोजना गरेर भव्य रुपमा नयाँ वर्ष मनाइएको बताइन्छ ।
वनभोजमा झण्डै ९० जनाको सहभागिता थियो । नेपालीहरुका व्यापार साझेदार स्थानीय चिनियाँ पनि वनभोजमा सामेल थिए । कार्यक्रममा चिनियाँहरु निकै उत्साहित देखिन्थे । नेपाली गीत संगीत घन्केपछि नेपालीहरु नाच्न थाले, सँगसँगै चिनियाँहरु पनि कम्मर मर्काउँदै मिसिए । नेपाली गीतमा नाचेपछि उनीहरु निकै दंग देखिन्थे ।
चीनका लागि नेपाल चेम्बर अफ कमर्सका पूर्वी क्षेत्रीय व्यापार प्रतिनिधि राजकुमार खड्काका अनुसार २०८१ को बिदाई र २०८२ सालको आगमनको अवसरमा वनभोजसहित रात्रिभोजको आयोजना गरिएको थियो । यिवु शहरको अध्यागमन विभाग, परराष्ट्र विभाग, वाणिज्य विभाग, सुरक्षा विभाग, विभिन्न कलेजका प्रतिनिधि र अन्य विशिष्ट व्यक्तिहरु कार्यक्रममा अतिथि थिए । उनीहरुले रमाइलो गर्दै नेपालीहरुलाई नयाँ वर्षको शुभकामना दिएका थिए ।
‘हाम्रो नयाँ वर्षसँगै नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ७० औं वर्षगाँठ भएकाले नयां वर्षको अघिल्लो दिन रात्रिभोजको पनि आयोजना गरिएको रात्रीभोजमा विशिष्ट व्यक्तित्वहरुको उक्त कार्यक्रममा उपस्थिति थियो । उहाँहरुसँग शुभकामना आदानप्रदान गरियो’, खड्काले भने ।
उक्त रात्रिभोज कार्यक्रम संयोजन यिवु शहरले नेपालका लागि मानार्थ प्रदान गरेको ‘वायर्स सेन्टर’ का प्रमुख तथा नेपाल चीन चेन्बर अफ कमर्स यिवुका प्रतिनिधि विष्णुप्रसाद दुमरुले गर्नुभएको थियो भने बनभोज कार्यक्रमको आयोजना एन आर एन ए चीनको चच्यांग क्षेत्रीय कमिटीले गरेको थियो ।
टिप्पणीहरू