राजा ल्याउन कस्सिएका बूढा नेताहरुलाई हटाएकै हो राप्रपाले ?
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था पक्षधर अन्य राजनीतिक दल, अभियान र समूहमा लागेका नेता-कार्यकर्तालाई पार्टीको जिम्मेवारीबाट हटाउने भएको छ । हिजो बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अघिल्लो बैठकको सोसम्बन्धी निर्णय कार्यन्वयनका लागि पार्टीका सबै कमिटीलाई जानकारी गराउने निर्णय गरेको हो ।
बैठकको निर्णयबारे जानकारी दिन प्रवक्ता मोहन श्रेष्ठले सार्वजनिक गरेको वक्तव्यको 'आन्दोलनका सम्बन्ध' मा शीर्षकको छ नम्बर बुँदामा लेखिएको छ, 'राजावादी विचार भएका दल, अभियान,समूहले गर्ने कार्यक्रमलाई पार्टीले सहयोग गर्ने तर त्यस्ता दल, अभियान वा समूहको समितिमा रहेर कार्य गरेको पाइएमा स्वत: पदमा नरहने केन्द्रीय कार्य सम्पादन समितिको यस पूर्वको निर्णय सबै कार्य समितिलाई जानकारी गराउने ।'
राप्रपाको यो निर्णयले पूर्वअध्यक्ष तथा वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र,महामन्त्री धवलसमशेर राणा,केन्द्रीय सदस्य नवराज सुवेदी र हरिबहादुर बस्नेतको पद धरापमा परेको छ । यिनीहरु सबै अन्तिम राजा ज्ञानेन्द्र शाहको चाहनाअनुसार गठित 'राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति' को विभिन्न जिम्मेवारीमा सक्रिय छन् ।
रमाइलो कुरा के भने राप्रपाको केन्द्रीय सदस्य रहेका सुवेदी उक्त समितिको संयोजक छन् । जबकि पार्टीमा उनीभन्दा माथिल्लो वरियताका मिश्र सदस्य सचिव र राणा आन्दोलन परिचालन समितिको संयोजक हुन् ।
राप्रपाले राजसंस्था पुनर्स्थापनाका लागि आफ्नै नेतृत्वमा आन्दोलन अघि बढाउने निर्णय पहिले नै गरिसकेको थियो । जसअनुसार चैत २६ गते बल्खुमा प्रदर्शन गरेको उसले वैशाख ७ गते निषेधित क्षेत्र तोड्ने कार्यक्रम राखेको छ ।
तर, यहीबीच सक्रिय भएको निर्मल निवासले सुवेदीको नेतृत्वमा छुट्टै समिति बनाएपछि त्यसमा पार्टीको सहभागितालाई लिएर राप्रपामा आन्तरिक किचलो चर्कियो । अध्यक्ष लिङ्गदेनसहित बहुमत सदस्य पार्टीको पहिचान जोगाएर आफ्नै ढंगले जानुपर्ने अडानमा रहँदा उपाध्यक्ष मिश्र र महामन्त्री राणा भने सुवेदीको समितिमा बस्ने निर्णयमा पुगे । अघिल्लो कार्य सम्पादन समितिको बैठकमा त्यसलाई लिएर नेताहरुको चर्काचर्कीसमेत परेको थियो ।
अध्यक्ष लिङ्गदेनसहित बहुमत सदस्य पार्टीको पहिचान जोगाएर आफ्नै ढंगले जानुपर्ने अडानमा रहँदा उपाध्यक्ष मिश्र र महामन्त्री राणा भने सुवेदीको समितिमा बस्ने निर्णयमा पुगे । अघिल्लो कार्य सम्पादन समितिको बैठकमा त्यसलाई लिएर नेताहरुको चर्काचर्कीसमेत परेको थियो ।
त्यसअघि नै 'एमाले छोडेर' डेढ वर्षअघि राजावादी बनेका र चैत १४ गते निर्मल निवास छिरेपछि आन्दोलनको कमाण्डर तोकिएका दुर्गा प्रसाईंको आह्वानमा तीनकुनेमा भएको प्रदर्शनमा सुवेदी, मिश्र र राणा सहभागी भैसकेका थिए । उक्त प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान जानुका साथै करोडौंको भौतिक संरचना क्षति भएको छ ।
तीनकुनेको तोडफोड,आगजनी र लुटपाटमा उक्साएको आरोपमा पक्राउ परेका मिश्र र राणा प्रहरी हिरासतमा छन् । उनीहरुलाई राज्यविरुद्धको कसूर र संगठित अपराधमा मुद्दा चलाउने गरी अनुसन्धान भैरहेको छ । 'होम एरेस्ट'मा परेका संयोजक सुवेदी अहिलेसम्म बाहिर निस्कन सकेका छैनन् ।
यता, कार्यवाहक संयोजक तोकिएका जगमान गुरुङले केही दिनअघि राजावादीहरुलाई भेला गरेर राजा फर्काउने प्रतिवद्धता सभा आयोजना गरे पनि लिङ्गदेनलाई बोलाइएन । शंखपार्क नजिकै स्मार्ट दरबार बैंकेटमा भएको उक्त भेलामा राजावादीहरु आपसी घोचपेच र कटाक्षमा उत्रिएका थिए ।
यसबीच हिजो बसेको बैठकले अन्य समूहमा सक्रिय नेता-कार्यकर्ता पार्टीबाट स्वत: पदमुक्त हुने निर्णय गरे पनि मिश्र र राणाको रिहाइका लागि राजनीतिक तथा कानुनी लडाई जारी राख्ने भनेको छ ।
‘पार्टीको मुद्दाको स्थापनाका पक्षमा तथा वरिष्ठ उपाध्यक्ष मिश्र,महामन्त्री एवं सांसद धवलसमशेर राणालगायत प्रहरी हिरासतमा रहेका सम्पूर्ण नेता एवं कार्यकर्ताको निःशर्त रिहाइ र गत चैत्र १५ गते तीनकुनेमा राज्यपक्षबाट भएको दमनको घटनाको निष्पक्ष न्यायिक आयोग गठन गर्न दबाब दिन वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने,’ कार्यसम्पादन समितिको निर्णय छ ।
धवलसमशेरलाई छुटाउनका लागि राप्रपाका नेताहरु अघिल्लो साता कांग्रेस सभापति शेरबहादुर देउवाकहाँ हारगुहार गर्न पुगेका थिए ।


टिप्पणीहरू