निषेधित क्षेत्र तोड्ने राप्रपाको तयारी, कारबाही गर्ने सरकारको चेतावनी

निषेधित क्षेत्र तोड्ने राप्रपाको तयारी, कारबाही गर्ने सरकारको चेतावनी

राष्ट्रिय प्रजातन्त्र पार्टीको विरोध प्रदर्शनको अघिल्लो दिन गृह मन्त्रालयले चेतावनीपूर्ण सचेत गराएको छ । भोलि राप्रपाले राजधानीका निषेधित क्षेत्र तोड्ने तयारी गरेको खबर बाहिरिएपछि गृह मन्त्रालयले प्रदर्शनमा अराजकता मच्चाउनेलाई कारबाहीको चेतावनी दिएको छ ।

मन्त्रालयले राप्रपाको विरोध प्रदर्शनको क्रममा निषेधित क्षेत्र तोडिए कानुन अनुसार कारबाही हुने जनाएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट भोलि मिति २०८२÷०१÷०७ गतेका दिन प्रचलित कानून बमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरुप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’ संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने पनि पत्रमा लेखिएको छ ।

भनिएको छ, ‘संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानुन बमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ ।’ मन्त्रालयले समाजमा हिंसा फैलाउने कुनैपनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन अनुरोधसमेत गरेको छ ।

राप्रपाले भोलि राजधानीको बिजुलीबजार क्षेत्रमा भेला भएर सिंहदरबार, बालुवाटार, शीतल निवासलगायत स्थानमा सरकारले यसअघि तोकेको निषेधित क्षेत्र तोड्न नेता तथा कार्यकर्तालाई आह्वान गरेको छ ।

टिप्पणीहरू