रास्वपामा चर्कियो किचलो, थप पाँच जनाले पद छोड्न लागेको दाबी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेत्री सुमना श्रेष्ठले सहमहामन्त्री पदबाट राजीनामा दिएसँगै सो पार्टीका अन्य नेता पनि पद छोड्ने तयारीमा रहेको बुझिएको छ ।
सभापति रवि लामिछानेसँग असन्तुष्ट रहेका तर 'मुकुल ढकाल बनाइने' डरले चुपचाप रहेका नेताहरुले सुमनाको राजीनामालाई समर्थन जनाएका छन् । त्यस्ता पाँच जना सांसदले पार्टीको विभिन्न जिम्मेवारीबाट अलगिने तयारी गरेको जानकार स्रोतको दाबी छ ।
कार्यवाहक सभापति डिपी अर्यालको कार्यशैलीप्रति असन्तुष्ट रहँदै आएका ती नेताहरु अब नयाँ ढंगबाट अघि बढ्ने मनस्थितिमा पुगेको बताइन्छ ।
‘जब पोखराको आन्दोलन तुहियो र काठमाडौँ फर्किनुपर्यो, त्यतिबेलै तीन जना मान्यज्यूले यसरी अघि बढ्न सकिन्न भन्नुभएको थियो’, स्रोत भन्छ, ‘अहिले त्यो संख्या बढेर ६ पुगेको छ, जसमा सुमना म्याम खुलिहाल्नुभयाे, अरु विस्तारै खुल्नुहुन्छ ।’
बताइएअनुसार राजीनामा प्रकरणपछि कार्यवाहक सभापति अर्यालले ‘दुई चार जना बसौँ न’ भन्दै सुमनालाई छलफलको लागि बोलाएका छन् । त्यो पार्टीको औपचारिक बैठक नभई अनौपचारिक छलफल मात्र हुने बताइन्छ ।
अहिले सुमनाको राजीनामा प्रस्ताव स्वीकृत भइसकेको छैन । यसले पार्टीलाई पुर्याउनसक्ने क्षतिलाई रोक्न डिपीले लचक हुँदै छलफलका लागि तत्परता देखाएको नेताहरुले बुझेका छन् ।
'संसदमा उहाँ (सुमना)ले पार्टीको राम्रो छवि बनाउनु भएको छ, उहाँको विषयमा जे जति हल्ला आए, त्यसलाई रोक्ने प्रयास हुनसक्छ’, एकजना केन्द्रीय तहका नेताले खुलाए । स्मरणीय छ, सहकारी काण्डमा रवि पक्राउ परेसँगै पार्टीभित्र फरक धारणा राख्दै आएकी सुमनाले 'गुप्त अभियान' चलाइरहेको समाचार यसअघि जनआस्था अनलाइनमा प्रकाशित भएको थियो ।
विभिन्न महिला, कन्टेन क्रियटर, बौद्धिक वर्गसँगको भेटघाटलाई तीब्रता दिएकी उनले बालेन साहलगायत स्वतन्त्रहरुको नयाँ राजनीतिक समीकरण बनाउन लागेको दाबी गरिएको छ ।
टिप्पणीहरू