पहिले हजारौंको दाबी, अन्ततः न्यून सहभागी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौँमा आयोजना गरेको प्रदर्शनमा सहभागी संख्या अनुमानभन्दा निकै न्यून रहेको बताइन्छ । हजारौँ जनताको उपस्थितिमा निषेधित क्षेत्र तोड्ने दाबी राप्रपाको थियो । सुरक्षा संयन्त्रले पनि केही हजारको सहभागिता हुने अनुमान गरेर सोहीबमोजिम तयारी गरेको थियो ।
चैत १५ गतेको आकलनमा प्रहरी परिचालन गरिएको सहजै अनुमान गर्न सकिन्थ्यो । तर अपेक्षाभन्दा धेरै कम सहभागी भएको जिल्ला प्रहरी परिसरले जनाएको छ । ‘हामीले सुरक्षा रणनीति बनाएर राम्रो तयारी गरेका थियौँ, कम्तीमा दुई हजार हुन्छन् कि भन्ने थियो, तर केही सय मात्रै देखिए’, प्रहरी स्रोत भन्छ, ‘सायद त्योभन्दा पनि कम थिए, फरक–फरक समूहमा बाँडिएकाले हामीकहाँ त्यति रिपोर्ट आयो ।’
पार्टी अध्यक्ष राजेनद्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई प्रहरीले ‘तपाईंहरु आफैं सांसद हो नि’ भन्दै सम्झाएको थियो । दिउँसो सिंहदबारभित्रै प्रदर्शन खर्न खोजेका उनीहरुलाई नियन्त्रणमा लिएर भद्रकालीस्थित काठमाडौँ प्रहरी परिसरमा चार घण्टा राखेपछि छाडिएको छ ।
त्यसक्रममा प्रहरीले सम्झाएको बताइन्छ । ‘उहाँहरु आफै सांसदजस्तो मान्छे, कानुन पालना गर्ने र गराउने मान्छे, यो राम्रो भएन भनेर भन्यौं’, स्रोतले अगाडि भन्यो, ‘उहाँहरुले पनि सकारात्मक रुपमा लिनुभएको छ, यो भ्रष्टाचारविरुद्धको लडाइँ हो, प्रहरीलाई हामी सम्मान गछौँ भन्ने उहाँहरुको धारणा थियो ।’
टिप्पणीहरू