कसले छताछुल्ल पार्यो सुमनाको राजीनामा ?

कसले छताछुल्ल पार्यो सुमनाको राजीनामा ?

सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुध्दिकरणको मुध्दामा भैरहवा कारागारमा रहेका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठको सहमहामन्त्री पदबाट राजीनामा यतिखेर चर्चामा छ । पत्र सार्वजनिक भएपछि उनले दिएको अभिव्यक्तिले माहौललाई झनै गर्मागरम बनाएको छ । उनले आफूले नभई पार्टीभित्रैबाट कसैले पत्र बाहिर्याएको आरोप लगाएकी छन् ।

गत चैत १८ गते सभापति लामिछानेले पुनः जिम्मेवारी सम्हालेपछि उनले राजीनामा पत्र बुझाएकी थिइन् । रविले सो विषयमा पार्टीमा छलफल गर्ने र पार्टी संरचनालाई फेरि गठन गर्ने प्रतिबध्दता जनाएका थिए । तर, प्रतिबध्दता पुरा गर्न नपाउँदै उच्च अदालत,तुल्सीपुर बुटवल इजलासको आदेशबमोजिम उनी थुनामा पुगे । त्यसपछि नै सुमनाले सहमहामन्त्री पदबाट राजीनामा दिन लागेको गाइगुइँ चलेको थियो । 

सुमनाले संसद्मा ‘हिरोइज्म’ देखाएको, स्वतन्त्र सांसदजस्तै व्यवहार गरेको,आफूखुशी विधेयक दर्ता गर्ने गरेको,प्रमुख सचेतक सन्तोष परियार र आफूलाई नटेरेको भनी उनले पार्टीमा समेत जानकारी गराएको स्रोतको जिकिर छ ।

तर, उनको तर्फबाट त्यस विषयमा कुनै प्रतिक्रिया आएको थिएन । गत वैशाख ४ गते राजीनामा पत्र बुझाइन् । सोपश्चात् पार्टीभित्रैबाट आफ्नो राजीनामा पत्र बाहिरिएको बताइन् । केन्द्रीय समिति बैठकअगाडि नियोजित रुपमा राजीनामा छरपष्ट पार्नेमाथि अनुसन्धान गरिने उनको भनाइ छ । उनको सो प्रतिक्रियाले पार्टीभित्र तरंग ल्याएको छ । सुमना पक्षले भने सचेतक तथा कान्छी सांसद निशा डाँगीले राजीनामा छताछुल्ल बनाइदिएको हुनसक्ने अनुमान लगाएको छ ।

पत्रकारसमेत रहेकी निशा र सुमनाको सम्बन्ध खासै राम्रो नभएको स्रोत बताउँछ । स्रोतका अनुसार निशा सुमनासँग चिढिएकी छिन् । सुमनाले संसद्मा ‘हिरोइज्म’ देखाएको, स्वतन्त्र सांसदजस्तै व्यवहार गरेको,आफूखुशी विधेयक दर्ता गर्ने गरेको,प्रमुख सचेतक सन्तोष परियार र आफूलाई नटेरेको भनी उनले पार्टीमा समेत जानकारी गराएको स्रोतको जिकिर छ ।

स्रोत भन्छ,‘निशाजी उहाँसँग खुशी हुनुहुन्न । उहाँको राजनीतिक चरित्र ठीक भएन भन्ने गर्नुहुन्छ । संसदीय फाँटमा नटेरेको,पार्टीको निर्णयलाई बेवास्ता गरेकोलगायतका विषयमा उहाँको असन्तुष्टि छ । त्यसैले उहाँको राजीनामाको विषय निशाजीले नै बाहिर ल्याएको हुनसक्ने हाम्रो आकंलन छ । यो विषयमा छानबिन भइरहेको छ ।’

टिप्पणीहरू