कक्षा १२ को परीक्षा नरोकिने भएपछि चाबी उठाउन निर्देशन
शिक्षक आन्दोलनबीच सरकारले कक्षा १२ को परीक्षा निर्धारित समयमै सञ्चालन गर्ने निर्णय गरेपछि नेपाल विद्यालय कर्मचारी परिषद्ले २४ घण्टाभित्र विद्यालयको चाबी लिएर काठमाडौं आउन निर्देशन दिएको छ ।
केही बेरअघि विज्ञप्ति जारी गर्दै परिषद्ले देशभरका कार्यसमिति र विद्यालय कर्मचारीलाई २४ घण्टाभित्र विद्यालयको चाबी लिएरै काठमाडौंमा जारी आन्दोलनमा सहभागी हुन बोलाएको हो ।
‘नेपाल शिक्षक महासंघको दोस्रो चरणको आन्दोलन जारी भइरहेको समय सन्दर्भमा विद्यालय कर्मचारीलाई विद्यार्थी भर्ना, नतिजा प्रकाशन र कक्षा १२ को परीक्षामा समेत खटिएको खबर सुन्न आएको हुँदा जारी प्रेस विज्ञप्तिमार्फत सूचना प्राप्त भएको २४ घण्टामा चाबी लिएरै काठमाडौंमा जारी ऐतिहासिक आन्दोलनमा अनिवार्य रुपमा सहभागी हुनका लागि निर्देशनात्मक अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ ।
शैक्षिक हड्ताल भइरहेको परिस्थितिमा समग्र शिक्षा क्षेत्रको अग्रगामी परिवर्तनका लागि र कर्मचारीको हक अधिकार स्थापित गर्ने परिवर्तनगामी यात्रामा छुट्ने अधिकार कसैलाई नरहेकोसमेत परिषद्ले विज्ञप्तिमा उल्लेख गरेको छ ।
टिप्पणीहरू