नरेन्द्र मोदीको प्रशंसा गर्दै धर्म प्रचार नगरेकोमा प्रधानमन्त्रीमाथि आक्रोश

नेपाली काँग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले नेपाल हिन्दु धर्मावलम्वीहरुको तपोभूमि भएपनि सरकारले प्रचार गर्न नसकेको गुनासो गरेका छन् ।

'नेपालको समृद्धिमा भारतको भूमिका' विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले धर्म प्रचारमा नलागेको भन्दै प्रधानमन्त्रीको आलोचना गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपति, लुम्बिनी, मुक्तिनाथ, जनकपुरधाममा गएर ध्यान गर्ने र प्रचार प्रसार गरिदिएको तर नेपालकै प्रधानमन्त्रीहरुले भने चासो नदिएको उनको आरोप छ ।

नेपालका धामहरुको प्रचार प्रसार गर्ने हो भने भारतबाट वर्षेनी ठूलो संख्यामा धार्मिक पर्यटक भित्र्याउन सकिने विश्वासका साथ नेता गुरुङले भने, 'झन्डै डेढ अर्ब जनसंख्या भएको भारतमा बहुसंख्यक हिन्दु छन् । हिन्दु धर्मका लागि नेपाल तपोभूमि हो । तपोभूमिको परिचय दिलाउनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कहिले पशुपति, कहिले मुक्तिनाथ धाम, कहिले लुम्बिनी, कहिले जानकीधाममा देखिनुहुन्छ, तर हामी कहाँ छौँ ? ’

पशुपतिनाथमा चढाएको जलहरीको विषयमा नेपालीहरु आलोचना गरेर बस्ने गरेको र त्यसले अनास्था फैलिएको उनको भनाइ छ । नेपालको धार्मिकस्थलहरुको प्रचार गर्नका लागि पहिला ताप्के (नेपाल) तात्नुपर्ने र बिँड (भारत) तातेर अर्थ नरहने पनि गुरुङले बताए । 

सरकारले नेपालीलाई भारतीय सेनामा भर्ती हुनबाट रोक्दा रुस–युक्रेन लगायतका देशको सेनामा गएर जीवन कटाउन बाध्य हुनुपरेको उनको जिकिर छ ।
 

टिप्पणीहरू