काठमाण्डौको सडक आज फेरि अस्तब्यस्त

काठमाण्डौको सडक आज फेरि अस्तब्यस्त

आन्दोलनका नाममा विभिन्न समूह सडकमा ओर्लिएपछि एक महिनादेखि भद्रगोल बनेको काठमाडौँको ट्राफिक व्यवस्थापन आज थप अस्तव्यस्त बनेको छ । 

शिक्षक आन्दोलनका कारण तीन सातादेखि अस्तव्यस्त राजधानी आज सरकारको नेतृत्व गरिरहेको पार्टीसमेत शक्ति प्रदर्शनमा उत्रिएपछि थप ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको हो । जसका कारण सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । 

लोकतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री अध्यक्ष रहेको दल नेकपा एमालेले आज भृकुटीमण्डपमा ‘युवा सेलिब्रेसन’ कार्यक्रम आयोजना गरेको थियोे । उक्त कार्यक्रममा सहभागी हुन नारा जुलुससहित उपत्यका र बाहिरबाट समूहबध्द भएर आएका एमाले कार्यकर्ताका कारण बिहानैदेखि ट्राफिक जाम भएको हो । 

शिक्षक आन्दोलनका कारण नयाँ बानेश्वर,बबरमहल,माइतीघर, त्रिपुरेश्वर र रत्नपार्क क्षेत्रमा सवारी साधनको अत्यधिक चापले ट्राफिक जाम हुने गरेकोमा आज भृकुटीमण्डप, सुन्धारा क्षेत्र पनि प्रभावित भयो । ट्राफिक कन्ट्रोल रुमले जनाएअनुसार प्रदर्शनीमार्गको कार्यक्रमलाई लक्षित गरी सवारी साधनलाई पद्मोदयमोड, सभागृहमोड र मोडेल अस्पताल नजिकैबाट डाइभर्ट गरिएको थियो ।

जसका कारण पद्मोदयमोड र भद्रकाली हुँदै चल्ने सवारी साधन धेरैबेर रोकिएका थिए । यसबाहेक काठमाडौँ उपत्यकाको अन्य मुख्य चोकमा पनि सवारी साधन पालोमा रोकिनुपर्ने अवस्था रहेको र नाकाको सवारी आवागमन क्रमश: सामान्य बनेको  ट्राफिक कन्ट्रोल रुमले जनाएको छ ।

टिप्पणीहरू