संसदमा एमाले र माओवादी सांसदको सवाल जवाफ
प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारलाई काम गर्न कसले रोकेको छ ? भन्दै प्रश्न सोधेका छन् ।
आजको प्रतिनिधि सभा बैठकमा उनले संविधान संशोधनको मूल उद्धेश्यसहित गठन भएको दुई ठूला पार्टीको बलियो सरकारले काम गर्न नसकेको भन्दै प्रश्न उठाएका हुन् । प्रतिपक्षीको मुखमा बिर्को लाग्ने गरी काम गर्न सापकोटाले सरकारलाई कटाक्षपूर्ण आग्रह पनि गरे ।
यसअघि प्रधानमन्त्रीको दल एमालेका सांसद पदम गिरीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतर्फ लक्षित गर्दै आफ्नो राजनीतिक स्वार्थका लागि शिक्षकहरुलाई उत्तेजित पार्ने काम गरेको टिप्पणी गरेका थिए । सरकारको नेतृत्वमा रहँदा आफूले गरेका सहमति कार्यान्वयन नगरी ओली सरकारमाथि दोष थुपार्ने काम गरेको भन्दै उनले आक्रोश पोखेका थिए ।
जवाफमा सापकोटाले कामबाट विपक्षीको मुख बन्द गर्दिन चुनौती दिएका हुन् । ‘भर्खरै मान्यज्यूले भन्नुभयो, यो सरकार आजै ढल्छ, भोली ढल्छ भनेर भ्रमण सिर्जना नगरियोस् । तपाइहरू खुरुखुरु संविधान संशोधन गर्ने, राष्ट्रलाई डेलिभरी दिन्छौँ भनेर आउनुभएको हो नि ठूला पार्टी मिलेर', उनले भने, 'भटाभट हाम्रो मुखमा बिर्को लाग्ने गरी काम गर्नुस् न, के ले रोकेको छ तपाइहरूलाई ?'
सरकारले शुरुदेखि नै नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङमाथि झम्टिएको बताउँदै सापकोटाले अहिले आफ्नै पार्टीका मन्त्रीलाई समेत बर्खास्त गरेको बताए । सरकारले एकपछि अर्को मनलाग्दी गरिरहेको भन्दै उनले प्रतिपक्षले सबै कुरा ठिक छ भन्न नसक्ने प्रष्ट पारे ।
सरकारले बेथिति र विकृतिको संरक्षण गर्नुका साथै बिचौलियालाई खुशी पार्ने काम गरिरहेको सापकोटाको आरोप छ । प्रमुख प्रतिपक्षीको नाताले सरकारको गलत कदको सशक्त प्रतिवाद, खबरदारी र जनतालाई सुसुचित पार्ने भूमिका माओवादीको रहेको उनले बताए ।
टिप्पणीहरू