शिक्षकहरूलाई पूर्व प्रधानमन्त्रीको साथ

शिक्षकहरूलाई पूर्व प्रधानमन्त्रीको साथ

 पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउनुभएको छ ।  उहाँहरुले नयाँ बानेश्वर पुगेर पार्टीका अन्य नेताहरुसहित केहीबेर आन्दोलनरत शिक्षकहरुको जुलुसमा सहभागी हुनुभएको हो ।

अध्यक्ष नेपालले शिक्षकहरुको माग पूरा गर्न संसदमार्फत् सरकारलाई दबाब दिने प्रतिबद्धता जनाउनुभएको छ । भन्नुभयो, ‘हामी संसदमा विपक्षीहरु एक भएर तपाईं (शिक्षक)को माग पूरा गर्न सरकारलाई दबाब दिन्छौँ, हामी तपाईंहरुसँगै छौं ।’

त्यस्तै, पूर्व प्रधानमन्त्री तथा सम्मानित नेता खनालले पनि सरकारले अकर्मण्यता र शिक्षाविरोधी चरित्र देखाइरहेको टिप्पणी गर्नुभयो । लाखौँ विद्यार्थीको भविष्यसँग खेलबाड गरेको दाबी गर्दै भन्नुभयो, ‘अझै पनि सरकार गम्भीर बनेन भने योभन्दा ठूलो आन्दोलनको सामना गर्न तयार हुनुपर्छ, यो सरासर शिक्षाविरोधी चरित्र हो । शिक्षा ऐन जारी नहुँदासम्म हाम्रो पार्टी पनि शिक्षकहरुसँगै रहेको अवगत गराउन चाहन्छु ।’

यसैबीच, केही शिक्षकहरुले दुबै जनालाई ‘यहाँ आउनु पर्दैन’ भन्दै नाराबाजी गरेका छन् । एक शिक्षकले ‘यीनीहरु अहिले प्रतिपक्षमा छन्, जे पनि बोल्छन्’ भनेको सार्वजनिक भिडियोमा सुन्न सकिन्छ । ऐक्यबद्धता जनाउन पुगेका नेताहरुविरुद्ध नै शिक्षकले होहल्ला गरेपछि अध्यक्ष नेपाल र नेता खनाल संक्षेपमा प्रतिक्रिया दिएर फर्कनुभएको हो ।

तस्बिरहरुः

​​​​​​​

टिप्पणीहरू