'मीन भवन' नबन्दै एमालेलाई च्यासलबाट हटाउन माग

'मीन भवन' नबन्दै एमालेलाई च्यासलबाट हटाउन माग

सरकारको नेतृत्वकर्ता नेकपा एमालेले तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा पार्टी कार्यालय संचालन गरेकोप्रति संसदमा प्रश्न उठेको छ । 

आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा प्रतिनिधिसभा सांसद प्रभु साहले सरकारी बजेटले बनेको प्रतिष्ठानमा कुनै दल विशेषको कार्यालय राख्न नपाइने बताएका हुन् । उनले एमालेलाई तत्काल त्यहाँबाट हट्न आग्रहसमेत गरे । 

'सामाजिक कार्यको लागि निर्मित तुलसीलाल स्मृति प्रतिष्ठानमा सम्माननीय प्रधानमन्त्रीको पार्टीको केन्द्रीय कार्यालय छ । म सोध्न चाहन्छु, तुलसीलाल स्मृति प्रतिष्ठान सामाजिक संस्था हो कि व्यापारिक ? यदि सामाजिक संस्था हो भने जुसको लाइसेन्स लिएर मदिराको व्यापार गर्न मिल्छ ?', प्रभुको प्रश्न छ । 

तुलसीलाल स्मृति प्रतिष्ठान भाडामा दिन मिल्ने भए एमालेले दिएभन्दा बढी भाडा दिन आफ्नो पार्टी तयार रहेको पनि उनको भनाई छ । अहिले आफूहरु पार्टी कार्यालय खोजिरहेको भन्दै उनले आफूलाई दिन मागसमेत गरे ।

२०७२ को भूकम्पले बल्खुस्थित कार्यालय भत्किएपछि एमालेको अहिलेसम्म स्थायी पार्टी कार्यालय छैन । बल्खुबाट धुम्बाराहीस्थित पासाङल्हामु शेर्पा प्रतिष्ठानको भवनमा सरेको एमाले केन्द्रीय कार्यालय त्यसपछि थापाथलीस्थित एक व्यापारीको निजि घरमा राखिएको थियो । अहिले ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको भवनमा छ । 

भाडाको घरबाट कार्यालय संचालन गर्दै आएको एमालेलाई भाटभटेनीका मालिक मीनबहादुर गुरुङले आफ्नै जग्गामा भव्य भवन बनाइदिने घोषणा गरिसकेका छन् । दशैँको शुभ साइत परेर भवन शिलान्याससमेत भैसकेको छ । 

सरकारको नेतृत्व गरिरहेको दलले व्यापारीसँग चन्दा लिएर पार्टी कार्यालय बनाउँदा स्वार्थ बाझिने भन्दै पार्टीभित्र र बाहिर चर्को विरोध भएपनि जग्गा दिने र लिने दुबैले निर्णय बदलेका छैनन् ।
 

टिप्पणीहरू