स्ववियु पदाधिकारीप्रति क्रान्तिकारीको आपत्ति, खारेजीकाे माग

स्ववियु पदाधिकारीप्रति क्रान्तिकारीको आपत्ति, खारेजीकाे माग

काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसको स्ववियु निर्वाचन समितिद्वारा प्रकाशित ‘स्ववियु निर्विरोध निर्वाचित’ सम्बन्धी सूचनाप्रति अनेरास्ववियु (क्रान्तिकारी) क्याम्पस कमिटीले आपत्ति जनाएको छ । सो सूचनाले लोकतान्त्रिक विधिमा विश्वास गर्ने विद्यार्थी समाजलाई गम्भीर आघात पुर्याएको भन्दै कमिटीले विरोध गरेको हो । 

कमिटीका उपाध्यक्षहरु दिपक विष्ट र लक्ष्मण सुनार, सचिवप टोपबहादुर कार्की र सहसचिवहरु पासाङ पुन र रमेश नेपालीले आज विज्ञप्ति जारी गर्दै एकपक्षीय र सत्ता प्रेरित यो कदमले विद्यार्थीको सहभागितामूलक अधिकारमाथि खुला प्रहार गरेको बताएका छन् । 

उच्च अदालत पाटनले अन्तरिम आदेशमार्फत निर्वाचन मिति तोकी प्रक्रिया अघि बढाउन स्पष्ट निर्देशन दिइसकेको अवस्थामा त्यसको उल्लंघन गर्दै निर्विरोध घोषणा गर्नु विधिको शासन, विद्यार्थी चेतना र लोकतान्त्रिक मूल्य मान्यतामाथिको सिधै अपमान भएको उनीहरुको ठहर छ । अलोकतान्त्रिक र षड्यन्त्रपूर्ण गरिएको उक्त घोषणा आफूहरुले कदापि स्वीकार्य नगर्ने भन्दै उनीहरुले त्यसलाई तत्काल खारेज गरी निर्वाचन प्रक्रिया अघि बढाउन माग गरेका छन् । 

विज्ञप्तिमा भनिएको छ, ‘हामी अखिल (क्रान्तिकारी) यस प्रकारको अलोकतान्त्रिक, षड्यन्त्रपूर्ण र अवैध अभ्यासलाई कदापि स्वीकार्य गर्दैनौं । हामी तीन वटा स्पष्ट माग राख्दछौं, पहिलो निर्विरोध भनिएको त्यो घोषणा तत्काल खारेज गरियोस् । दोस्रो अदालतको आदेशको पूर्ण पालना गर्दै निष्पक्ष, पारदर्शी र समावेशी निर्वाचन प्रक्रिया तुरुन्त अघि बढाइयोस् र तेस्रो स्ववियु निर्वाचनको नयाँ मिति तुरुन्त सार्वजनिक गरियोस् ।’ आफ्ना मागलाई बेवास्ता गरिएमा आन्दोलनका चरणबद्ध कार्यक्रम घोषणा गरी संघर्षमा उत्रिने चेतावनीसमेत दिइएको छ ।

टिप्पणीहरू