‘गैँडाज्’ एण्ड ‘डाँफेज्’ पछि अब नो माउण्ट एभरेष्ट
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकै सर्वोच्च शिखर सगरमाथालाई ‘माउन्ट एभरेष्ट’ भनिएकोमा आपत्ति जनाउनुभएको छ । कोशी प्रदेशले आयोजना गरेको लगानी सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सगरमाथाको अरु नाम हुनै नसक्ने बताउनुभयो ।
नेकपा (एमाले) का अध्यक्षसमेत रहनुभएका ओलीले सगरमाथालाई ‘माउन्ट एभरेष्ट’ भनेर नक्कली नाम दिइएको तर्क गर्नुभयो।
‘यही प्रदेश (कोशी)मा पर्छ सगरमाथा, अहिले त्यसलाई कतिपयले माउन्ट एभरेष्ट भनेको सुन्छ, त्यो नक्कली नाम हो’, उहाँले भन्नुभयो, ‘एक जना ब्रिटिशको नामका माउन्ट एभरेष्ट राखियो भनिन्छ, तर किन राखियो मैले बुझ्या छैन, न उनी सगरमाथा चढेका, न उनले सगरमाथा पत्ता लगाएका । त्यो नक्कली नाम हो, सगरमाथा इज् सगरमाथा ।’
कुनै पनि नामको नक्कली नाम सिर्जना गर्दा दीर्घकालीन असर पुग्ने उहाँको विश्लेषण छ । उदाहरण दिदैँ भन्नुभयो, ‘यहाँको मुख्यमन्त्री हिक्मतकुमार कार्की भनेपछि हिक्मतकुमार काकी नै हो, अर्को नाम भन्न मिल्दैन, सगरमाथाको खास नाम पनि सगरमाथा नै हो, अरू भन्न पाइदैँन ।’
प्रधानमन्त्री ओलीले कोशी प्रदेशमा हिमाली कच्चा स्रोत पर्याप्त भएको र त्यसको प्रयोगमा लगानी गर्न सुझाव पनि दिनुभयो । ‘सगरमाथा मात्रै होइन, लोत्से, मकालु, कञ्जनजंघा सबै यसै प्रदेशमा पर्छन्, त्यहाँको कच्चा पदार्थ निर्यात गर्न अब गाह्रो छैन, लुक्ला एयरपोर्टको मुनिसम्म सडक पुगिसकेको छ’, उहाँले थप्नुभयो ।
बेलाबखत यस्ता तर्क गरिरहने प्रधानमन्त्री ओलीले यसअघि गैंडा र डाँफेको पनि अंग्रेजी नाम नहुने जनाउँदै गैँडाज् एण्ड डाँफेज् भन्नुपर्ने तर्क गर्नुभएको थियो । अमेरिका भ्रमणका बेला उहाँले ‘डाँफेज् र 'गैँडाज्’ शब्द प्रयोग गरेपछि चर्को आलोचनासमेत भएको थियो ।
टिप्पणीहरू