जनतामाथि किन प्रहरी जाइलाग्दै ?

जनतामाथि किन प्रहरी जाइलाग्दै ?

मुस्कानसहितको प्रहरी कता हरायो ? नागरिकमाथि हात मात्र होइन, खुट्टा पनि किन चल्न थाले ?

गणतन्त्र दिवसको दिन गत वैशाख ११ गते सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा ट्राफिक प्रहरीले सर्वसाधारणलाई लात्तैलात्ताले भकुरिरहेको देखिन्छ । अन्य तीन प्रहरीले उनलाई रोक्नुको साटो आनन्द मानेर हेरेका छन् । बुट लगाएको खुट्टाले बेस्सरी कुटिएका ती युवक उठ्नसमेत सक्दैनन् । 

लगत्तै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुसन्धान अगाडि बढायो । त्यसैक्रममा घटना २०८१ मंसिर २३ गते सुन्धारा पुलमुनि भएको खुलेको हो । त्यसपछि चारै जनालाई ट्राफिक प्रहरी वृत्त जनसेवाबाट तानेर कार्यालयमा झिकाइएलगत्तै अर्को भिडियो सार्वजनिक भयो । ट्राफिककै एक सहायक हवल्दारले सर्वसाधारणलाई लखेटिलखेटी कुटेको ।

राति अनुगमनका लागि खटाइएका प्रहरीले युवकमाथि निर्घात कुटपिट गरे । चितवनको भरतपुर महानगरपालिका, बाइपास सडकखण्डमा प्रहरीले लात्तैलात्ताले तिघ्रामा हिर्काए । बल्लतल्ल उठेर भागेका युवकलाई समातेर पुनः बजाउने काम भयो । 

केही समयअघि वैदेशिक रोजगारीबाट फर्किएका एक युवकमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका प्रहरीले दुव्र्यवहार गरे । ट्रलीको विषयमा भएको विवादलाई सुल्झाउनुको साटो प्रहरी हातपातमा उत्रिए । उल्लिखित घटना उदाहरण मात्र हुन् । प्रहरीले सर्वसाधारणमाथि गरेका ज्यादती दर्जनौं छन् । नागरिकसँग नजिकिनुपर्ने प्रहरी झनै टाढिँदै गएका छन् । 

प्रहरी कानुन कार्यान्वयनकर्ता हुन् । कसैले गल्ती गरेमा प्रहरीले हत्कडी लगाउने हो, भुइँमा पच्छारेर लात्ती बर्साउने होइन । प्रहरीले पनि गुण्डा र जँडहाले जस्तै व्यवहार देखाउन थाले भने बर्दीको के औचित्य रहला र !

प्रहरीबाट अपशब्दको शिकार धेरै सर्वसाधारण भएका छन् । सम्झाईबुझाइको साटो सीधै गालीगलौजमा उत्रिने गरेका गुनासो बग्रेल्ती छन् ।  विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङ्गको समर्थनमा केही वर्षअगाडि प्रदर्शन हुँदा प्रहरीले एकदमै ज्यादतीपूर्ण व्यवहार देखायो । आन्दोलनकारीलाई लखेटिलखेटी कुटियो । चर्को विरोध भएपछि मुख्यालयले छानबिन समिति गठन गर्‍यो ।

त्यसपछि सर्वसाधारणलाई कुट्ने काम केही घटेको थियो । अहिले फेरि सोही रूप देखिन थालेको छ । पूर्वडिआइजी हेमन्त मल्ल त्यस्ता हर्कतले संगठनमाथि अविश्वास बढ्दै गएको बताउँछन् । उनले भने, ‘समाजमा उद्दण्डता बढ्दै गएको छ । त्यसैले प्रहरी थप संयमित हुन जरुरी छ । घटना दुईतिरबाटै हुन्छ तर दोषी प्रहरीलाई देखाइन्छ । विवादबाट बच्नका लागि प्रहरीहरू सचेत, जिम्मेवार हुनुपर्छ । संगठनको पनि यसतर्फ ध्यान जान आवश्यक छ ।’

संगठनले मिहिनेत गर्नुपर्ने देखिन्छ : आयोग

राष्ट्रिय मानवअधिकार आयोगले प्रहरी मुख्यालयले आफ्ना कर्मचारीमाथि मिहिनेत नगरेसम्म यस्ता घटना दोहोरिरहने बताएको छ । सहायक प्रवक्ता उपसचिव श्यामबाबु काफ्लेले यातनाविरुद्ध प्रहरीलाई तालिम दिइरहेको बताए । 

भन्छन्, ‘उहाँहरूको यातनाविरुद्ध आफ्नै पुस्तिका पनि छ । के गर्नुहुन्छ ? हुँदैन ? त्यहीँ लेखिएको छ । तालिम दिइँदा, पुस्तकमा लेखिँदा पनि यस्ता घटना दोहोरिनुरहनु दुःखद छ ।’
 

टिप्पणीहरू