गभर्नर नियुक्तिनिम्ति कामुको फुली खोस्नसमेत तयार

गभर्नर नियुक्तिनिम्ति कामुको फुली खोस्नसमेत तयार

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्तिमा परेको गाँठो फुकाउन सत्तारुढ एमालेले अन्तिम पहल गर्ने भएको छ । विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवालाई वैशाख ३ गते दिएको वचन पूरा गर्नका लागि भए पनि कायम मुकायम गभर्नर निलम ढुंगाना तिम्सिनालाई केही दिन निलम्बन गर्नैपर्ने निश्कर्षमा एमाले नेतृत्व पुगेको बताइन्छ ।

पहिले एमालेको भागमा परेको भनिएको गभर्नर नियुक्तिका निम्ति तिम्सिनाले आफूलाई प्रधानमन्त्री ओलीको पहिलो रोजाइमा राखेकी थिइन् । प्रधानमन्त्रीले पहिले नै वचन दिएको भन्ने निलमको दाबीलाई बालुवाटार स्रोतले अस्वीकार गरेको छ । यता  प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार युवराज खतिवडा र अर्थमन्त्री विष्णु पौडेल निलम गभर्नरका लागि योग्य उम्मेदवार नरहेको निश्कर्षमा पहिलेदेखि विश्वस्त थिए । निवर्तमान गभर्नर महाप्रसाद अधिकारी पनि उनले गभर्नरको जिम्मेवारी पूरा नगर्नेमा सतप्रतिशत सहमत थिए । अहिले संयोगबशः गभर्नर नियुक्तिका लागि उम्मेदवार सिफारिस समितिमा पौडेल संयोजक र अधिकारी सदस्य छन् । काँग्रेसका तर्फबाट मौद्रिक नभएर अर्थशास्त्र र अर्थशास्त्रीहरुको इतिहासबारे जानकार राख्ने विश्व पौडेल सदस्य छन् ।

चैत २४ गते रिक्त भएको गभर्नर पदमा कानुनतः सरकारले फागुन २४ गतेभित्रै नियुक्त गर्नुपथ्र्यो । उल्टै एक महिनाभन्दा बढी समयदेखि पद रिक्त छ । यसबीच उत्पन्न राजनीतिक परिस्थिति, दाउपेचका कारण एमालेको प्रधानमन्त्री र अर्थमन्त्री हुँदाहुँदै पनि गभर्नर देउवालाई छाड्नुपर्ने अवस्था आइलागेको हो । काँग्रेसको कोटामा अघि सारिएका भनिएका ज्ञानेन्द्र ढुंगानाको विगत र वर्तमानलाई नियालेको बालुवाटारले ‘लेस हार्मफुल’, केन्द्रीय बैंकको ‘क्याडर’ का नाताले गुणाकर भट्टलाई गभर्नर नियुक्त गर्दा फरक नपर्ने निचोड वैशाख शुरुताका नै निकालेको बताइन्छ ।

वैशाख १४ गते अर्थमन्त्री पौडेलले निलमलाई मन्त्रालयमा बोलाएर भट्टले वैशाख ५ गते दिएको राजीनामा स्वीकृत गर्दै मार्ग प्रशस्तका लागि आग्रह गरेको एमाले स्रोतको दाबी छ । केन्द्रीय बैंकको कागजी स्वायत्तता,लोकलाजका लागि भए पनि प्रधानमन्त्रीले कामु गभर्नरलाई बोलाएर भट्टको राजीनामा स्वीकृतिबारे हालसम्म मुख नखोल्नुभएको बताइन्छ । 

यता,नेपाली काँग्रेसको ‘द्रव्य समूह’ले भट्टको सट्टा ज्ञानेन्द्र वा सिफारिस कमिटीका सदस्य विश्व पौडेललाई गभर्नर बनाउनुपर्ने प्रस्ताव अघि सारेपछि बालुवाटारले भट्टभन्दा अरुमा सहमति जनाउँदा गम्भीर क्षति व्यहोर्नुपर्ने विश्लेषण गरेको छ । हिजो साँझ बालुवाटारमा देउवाले भट्टको राजीनामा स्वीकृत नहुने हो भने अर्को मान्छेलाई गभर्नर नियुक्त गरौं भनेपछि एमाले नेतृत्व झस्किएको हो ।

कामु गभर्नरले अरु सबै प्रशासनिक काम गर्ने तर एउटा कर्मचारीको नियमानुसार राजीनामा स्वीकृत नगरेको घटनालाई गम्भीर रुपमा लिँदै केही दिनका लागि निलम्बन गरेर छानबिन गर्नुपर्ने निश्कर्ष निकालेको स्रोतको दाबी छ । यस्तो अवस्थामा अर्का डेपुटी बमबहादुर मिश्र केही दिनका लागि कायम मुकायम गभर्नर हुने छन् । उनैले भट्टको राजीनामा स्वीकृत गर्नेछन् भने गभर्नर नियुक्तिका लागि हुने तीन जनाको नाम सिफारिसमा पनि मिश्र नै पर्ने निश्चित हुन्छ । त्यसो नगरेसम्म गभर्नर नियुक्तिमा परेको गाँठो डेपुटी तिम्सिनाले फुकाउनुको साटो झन् कस्ने बालुवाटारको बुझाइ छ ।

टिप्पणीहरू