पूर्वमन्त्रीले सोधे : प्राधिकरण बेच्ने तयारी हो ?
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किराँतीले नेपाल विद्युत प्राधिकरणको नेतृत्व फेरिनेबित्तिकै किन बिजुली जान थाल्यो ? भन्दै सरकारलाई प्रश्न गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले ‘यसबाट हामीले के बुझ्ने ?’ भन्दै जवाफ मागेका छन् ।
दुई महिना अघिसम्मको विद्युत प्रवाह र अहिलेको विद्युत प्रवाहमा जनताले धेरै फरक महशुस गरिरहेको किराँतीले अवगत गराए । ‘म भर्खरै पूर्वी नेपाल पुगेको थिएँ, अधिकांश स्थानमा बत्ती गएको देखियो र कुलमानको बर्खास्तीपछि बत्ती जान थाल्यो भनेर जनताको व्यापक असन्तुष्टि पनि सुनियो’, उनले भने, ‘र यो सत्य पनि हो कि लाइन जान थालेको छ, कुलमान हुँदा नाफामा रहेको प्राधिकरण, नयाँ प्रमुखले प्रस्तुत गरेको श्वेत पत्रमा एकाएक संकट ग्रस्त देखियो, हामीले के बुझ्ने ?’
पूर्वमन्त्रीसमेत रहेका किराँतीले चील आयो भनेर अकाशमा हेर्न लगाएर कुखुरा चोर्ने दुस्साहस नगर्न पनि चेतावनी दिए । अघि सोधे, ‘के यो प्राधिकरणलाई पनि कौडीको भाउमा बेच्ने प्रपञ्चको पूर्व तयारी हो ?’
टिप्पणीहरू