नेकपा एस दोस्रो चरणको आन्दोलनमा

नेकपा एस दोस्रो चरणको आन्दोलनमा

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ नारासहित शुरु गरेको आन्दोलन दोस्रो चरणमा प्रवेश गरेको छ । गत चैत १ गतेबाट थालिएको पहिलो चरणको कार्यक्रम सम्पन्न भएपछि पार्टीले दोस्रो चरणको कार्यक्रमको घोषणा गरेको हो । 

जसअन्तर्गत जेठ २ देखि ५ गतेसम्म सबै वडा, पालिका, जिल्ला र प्रदेश कमिटीको बैठक बसेर कार्यक्रमको योजना बनाउने, केन्द्रीय कमिटी, प्रदेश कमिटी र जिल्ला कमिटीका पदाधिकारीहरुको जुम बैठक राख्ने, जेठ ६ गते बाँकी पालिकाहरुमा मागपत्र बुझाउने, जेठ ७ गते हालसम्म बुझाइएका मागपत्रबारे प्रदेश सरकारलाई स्मरण गराउने, सामाजिक सञ्जालमा आन्दोलन र मागहरुसँग सम्बन्धित सामग्री पोष्ट गर्ने कार्यक्रम रहेको छ । 

त्यसैगरी, जेठ ८ गते जिल्ला कार्यालयमा मागपत्रबारे स्मरण गराउने, जेठ ९ गते पालिकाहरुमा पार्टीको प्रतिनिधि मण्डलले स्मरणपत्र बुझाउने, जेठ १० गते प्रदेश कमिटीले अन्य पार्टीका नेता र बृद्धिजीवीसँग विचार गोष्ठीको आयोजना गर्ने, जेठ ११ गते जिल्लास्तरमा गोष्ठी गर्ने, जेठ १३ गते माग सम्बोधनका लागि दबाब दिन पालिकाका कार्यालयबाहिर दुई घण्टा धर्ना दिने, जेठ १५ गते पुनः पालिकाहरुमा स्मरणपत्र पेश गर्ने, जेठ १७ देखि १९ गतेसम्म पालिकाका मुख्य बजार र चोकमा पर्चा बाँड्ने जनाइएको छ । 

जेठ २१ गते ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस’ सम्बन्धी गोष्ठी गर्ने, जेठ २२ र २३ गते वडा भेला गर्ने, जेठ २६ र २७ गते जिल्लाका मुख्य स्थानमा कोणसभाको आयोजना गर्ने, जेठ २९ गते प्रदेश सरकारलाई दबाब दिन दुई घण्टा धर्ना दिने र जेठ ३१ गते पत्रकार सम्मेलनमार्फत आन्दोलनमा भएका कार्यक्रमबारे जानकारी दिने तय भएको छ ।

टिप्पणीहरू