नोटमा आ–आफ्नो चुनाव चिह्न राख्न कांग्रेस–एमालेलाई सुझाव
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले दलीय भागवण्डाको आधारमा गभर्नर नियुक्त गर्न लागेर सरकारले लज्जास्पद चरित्र देखाएको टिप्पणी गरेका छन् ।
राष्ट्र बैंक ऐनको उपेक्षा गरेर गभर्नर नियुक्ति गरिए अलिअलि बचेखुचेको गरिमा पनि ध्वस्त हुने चेतावनी उनले दिए । सरकारले नेपाली कांग्रेसको कोटाबाट गर्भनर सिफारिस समितिमा रहेका विश्व पौडेललाई नै गभर्नर बनाउन लागेको चर्चा चलिरहँदा सांसद ढकालले आजको प्रतिनिधिसभाको बैठकबाट ‘लाज पनि लजाइसकेको’ प्रतिक्रिया दिएका हुन् ।
‘अहिले सुनिरहेको छु, हाकाहाकी चुनाव लड्या मान्छेलाई, त्यो पनि मैसँग हो है, तेस्रो भाको हो फेरि, त्यस्तो मान्छेलाई गभर्नर भनेर अगाडि सार्या छ’, उनले भने, ‘म राष्ट्र बैंक ऐन २०५८ को दफा २१ सम्झाउन चाहन्छु, उहाँ राजनीतिक दलको कार्यकर्ता नै हो ।’
सांसद ढकालले सोही ऐनको दफा २० (ग) पनि स्मरण गराए । ‘त्यहाँ विषयगत अनभुवको स्पष्ट व्यवस्था छ । तर कृषि वातावरण पढेकोले मौद्रिक नीति बनाउनुपर्ने राष्ट्र बैंक चलाउन सक्छ त ? आवश्यक पर्ने अनुभव उहाँसँग कत्ति पनि छैन, अहँ, छैन । कुन्नी कुन कलेजमा करारमा पढाएको र एमसीसीमा पटके जागिर गरेको थाहा पाएको थिएँ, राष्ट्र बैंक चलाउन सक्ने अनुभव उहाँसँग छैन’, उनले थपे ।
गभर्नर सिफारिस समितिमा रहेको मान्छे आफै गभर्नर बन्न कस्सिनु नैतिक चरित्रको निकृष्ट उदाहरण भएको ढकालको बुझाई छ । उनले अघि भने, ‘ऐनमै नैतिक चरित्रको कुरा पनि छ, यो पो छ त झन् रोचक त ! आफै सिफारिस समितिमा बस्ने, अनि मान्छे भेटाइएन भनेर आफै कस्सिने । यो भन्दा रोचक अरु के होला ?’
गभर्नरका लागि हानथाप गरिरहेका कांग्रेस र एमालेलाई दुइवटा गभर्नर बनाउन र नोटमा आ-आफ्नो पार्टीको चुनाव चिन्ह राख्न ढकालले कटाक्षपूर्ण सल्लाहसमेत दिएका छन् ।
टिप्पणीहरू